फिचर

फोर्ब्सले भन्यो : नेपाल विश्वकै उत्कृष्ट गन्तब्य

काठमाडौं । विश्वचर्चित पत्रिका फोर्ब्सले सन् २०२० का लागि घुम्नै पर्ने मुलुकको सूचिमा नेपाललाई समेटेको छ ।

उक्त सूचिको पहिलो नम्बरमा नेपाल पर्न सफल भएको हो । घुम्नको लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने पत्रिकारले उल्लेख गरेको छ ।

फोर्ब्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले सन् २०२० मा विश्वभरमा घुम्न लायक १० ठाउँको सूचि राखेकी छिन् ।

जहाँ नेपाललाई पहिलो स्थानमा राखिएको छ । उनको लेखमा नेपाललाई धर्तीकै उत्कृष्ट साहसिक गन्तव्यका रुपमा चित्रण गरिएको छ ।

नेपाल साहसिक यात्रा रुचाउनेहरुका लागि र शान्त ठाउँमा डुल्न चाहने दुवैका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको फोर्ब्सले लेखेको छ ।

यहाँका होटल तथा रिसोर्टमा पाइने न्यानो आतिथ्य र खानाका परिकारले पनि यात्रा झनै रोमाञ्चक बन्ने उनको लेखमा उल्लेख छ ।

फाप्लुको ह्याप्पी हाउस र बर्दिया निकुञ्जको कर्णाली लज जानैपर्ने होटलका रुपमा उल्लेख गरिएको छ ।

नेपालको यात्रा दक्षिणतर्फबाट सुरु गर्नुपर्ने र चितवन, बर्दिया लगायतका राष्ट्रिय निकुञ्जमा गैँडा, हात्ती, बाघ लगायतका वन्यजन्तुको अवलोकनले यात्रा रोमाञ्चक हुने पनि लेखमा दावि गरिएको छ ।

केही दिनको बसाईले नै नेपालले पर्यटकलाई आफूतर्फ आकर्षित गर्ने पत्रिकाले उल्लेख गरेको छ ।

तराइकोे यात्रापछि पहाड र हिमालतिर लाग्दा यात्रामा स्वर्गीय आनन्द उल्लेख छ । पहाडी र हिमाली क्षेत्रमा हुने पदयात्रा, टेन्टमा बसाइ, आत्मीय गाइडले नेपाल यात्रा अविश्मरणीय बन्ने फोर्ब्सले उल्लेख गरेको छ ।

यस सूचिमा इक्वेडर, न्युजिल्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्या घुम्नै पर्ने मुलुकको उत्कृष्ट १० भित्र अटाएका छन् ।