समाचार

नेपाल प्रवद्र्धन गर्न हिमालयन ट्राभल मार्ट

काठमाडौं । नेपाललाई हिमालय गन्तब्यको प्रवेशद्धारको रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ आयोजना हुने तेस्रो संस्करणको हिमालयन ट्राभल मार्ट बिहीबारदेखि काठमाडौंमा शुरु हुने भएको छ ।

सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसीक पर्यटकीय गन्तव्यकोरुपमा विश्व सामु स्थापित गर्ने उद्देश्यले मार्ट जुन ६ देखि ९ तारिखसम्म काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने लागेको हो ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले मार्टको आयोजना गर्ने लागेको हो ।

मार्टको यस अघि सम्पन्न भएका दुई संस्करणहरुको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको पाटाले जानकारी दिएको छ ।

क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहेको यो मार्टले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको शसक्त उपस्थिति जनाउन सहयोग पुगेको छ ।

हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धेरै पर्यटन स्रोत बजारहरुवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको पाटाले उल्लेख गरेको छ ।

हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको समेत आयोजकको दावि छ । यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन प्रर्वद्धन तथा व्यवसायीहरुका बीच सञ्चाल विस्तार गर्न सहयोग पुगेको छ ।

हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा विश्वब्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धारा यस विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरिएको हो ।

यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्पापी क्रेता कम्पनीहरु र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाहरु सहभागीता जनाउने बताइएको छ ।

मार्टमा ३८ जना अन्तर्राष्टिण्य ट्राभल ब्लर्गस तथा मिडिया प्रतिनिधीहरुले समेत सहभागिता जनाउने छन् । समग्रमा नेपाल सहीत ४३ देशका करिब ७०० जनाले मार्टमा सहभागीता जनाउने आयोजकको भनाई छ ।

तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण बर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्यप्राप्तिमा समेत केन्द्रित रहने आयोजकको अपेक्षा छ ।