समाचार

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ माथि अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । उनलाई लाहौर हाइकोर्टले देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो ।

हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले सैनिक विद्रोहमार्फत राष्ट्रपति बनेका मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको हो । सजाय सुनाइरहँदा मुशर्रफ भने दुबईमा एक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।

उनले आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दा निराधार भएको दावि गर्दै आएका छन् ।

आफू देश सेवामा समर्पित भएको समेत उनको दावि छ । इस्लामाबादको विशेष न्यायालयले २०१४ मा देशद्रोहको एक मुद्दामा पूर्वराष्ट्रपति मुशर्रफलाई अभियुक्त बनाएको थियो ।

२०१३ मा पाकिस्तानी मुस्लिम लिग (नवाज)ले सरकारको बागडोर सम्हालेपछि उनीमाथि मुद्दा शुरु भएको हो । उनी मुद्दा शुरु भएपछि एक पटक मात्र अदालतमा उपस्थित भएका छन् ।

त्यसबाहेक उनी विदेशमै रहेका छन् । उनले १९९९ मा सैन्य विद्रोहमार्फत पाकिस्तानको शासन सत्ता हात पारेका थिए । २००१ मा उनी सैन्य प्रमुख रहेकै समयमा राष्ट्रपति घोषित भए ।

२००२ मा जनमत मार्फत थप पाँच वर्षका लागि राष्ट्रपति बनेका थिए । २००७ मा राष्ट्रपति निर्वाचन भयो, त्यसमा पनि उनी विजयी भए ।

यस चुनावविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि उनले संकटकाल घोषणा गरेका थिए ।

त्यसपछि मुख्य न्यायाधीशलाई हटाएर नयाँ मुख्य न्यायाधीश नियुक्त गरी आफ्नो पदलाई वैधानिकता दिएका थिए । २००८ मा उनी पदमुक्त बनेका हुन् ।