समाचार

नेकपा र राजपाबीच अप्रत्यासित सहमति, राष्ट्रियसभा निर्वाचनमा तालमेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच सहमति भएको छ ।

राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेसहित दुई बुँदे सहमतिमा बुधबार हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुबै दलका शीर्ष नेताबीच वार्तामा सहमति जुटेको हो ।

सहमति अनुसार राष्ट्रियसभामा प्रदेश २ तर्फका सीट दुबै दलले बाँड्ने भएका छन् । राष्ट्रियसभामा प्रदेश २ मा ८ मध्ये चार वटा खाली हुँदैछन् ।

रिक्त पदमा ९ माघमा निर्वाचन तोकिएको छ । खाली सीटमध्ये दुुई दुई सिट दुई दलले बाँडेर लिने भएका छन् । राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ ।

नेकपाले महिला र दलित पुरुषको सीट लिने सहमति बनेको छ । यससँगै दुई दलबीच राष्ट्रिय राजनीतिका विषयमा नियमित छलफल गर्ने र सहकार्य गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरी सार्वजनिक गरेका छन् ।

यी दुई दलको सहमति भने धेरैका लागि सरप्राइज बनेको छ । किनकी मधेषबादी दल र नेकपाबीच सम्बन्ध चिसिएको आंशका थियो ।