अर्थतन्त्र

सोधनान्तर स्थितिमा सुधार, २७ अर्ब २९ करोड नाफामा

काठमाडौं । गतवर्ष घाटामा गएको सोधनान्तर स्थिति चालु आर्थिक वर्षको पहिलो महिनाबाटै नाफामा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चौथो महिनासम्म आइपुग्दा सोधनान्तर नाफा २७ अर्ब २९ करोड नाघेको छ ।

देशबाट बाहिरिने रकम र देशभित्र रहने रकमको तुलना नै सोधनान्तर हो । बाहिरिने भन्दा भित्रने रकम बढी भयो भने त्यसबेला सोधनान्तर नाफामा जान थाल्छ ।

यसवर्ष आयातमा आएको संकुचनले सोधनान्तर स्थिति नाफामा गएको हो । पहिलो महिना पाँच अर्ब नाफामा देखिएको सोधनान्तर स्थिति दोस्रो महिना आठ अर्ब नाफामा पुगेको थियो।

तेस्रो महिना थप ६ अर्ब थपिएर १४ अर्ब पुगेकोमा चौथो महिनामा १३ अर्ब रुपैयाँ थपिएको तथ्यांकले देखाएको छ । आयात घटेसँगै व्यापार घाटा कम भएको छ ।

जसले शोधानान्तर स्थितिलाई ऋणात्मक हुनबाट बचाएको छ । अघिल्लो वर्षको तुलनामा चालु आवमा निर्यातमा समेत सुधार भएको छ ।

अर्थतन्त्रको एक पाटो सकारात्मक रहेपनि राजस्व संकलन र खर्चको पाटो भने अझ डामाडोल देखिएको छ । गत वर्ष सोधनान्तर घाटा नै ५७ अर्ब नाघेको थियो ।