समाचार

एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता

विश्वन्युज संवाददाता
काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए)को साइबर कन्फ्रेन्स बैठक शनिबार सम्पन्न भएको छ । एनआरएनए आईसीसीका २१ नयाँ सदस्य चयनमा चर्को विवाद भएको छ । विवादबीच अमेरिका क्षेत्रबाट पासाङ शेर्र्पा, डा. हरि दाहाल, विष्णुमाया परियार, यमुना भट्टराई, प्रमोद सिटौला र पुरुषोत्तम बोहोरा आईसीसी सदस्य बनेका छन् । त्यस्तै, युरोप क्षेत्रबाट रामशरण सिंखडा, भक्त गुरुङ, प्रेम तमु, अनुजा प्रधान र गुणराज शर्मा सदस्य मनोनित गरिएको एनआरएनएले जनाएको छ ।
अष्ट्रेलियाबाट डा. विनोद श्रेष्ठ, डा. बसुन्धरा भट्टराई र दुर्गा आचार्य मनोनित भएका छन् । मध्यपूर्व र एसियाबाट अब्दुल बसिद, नविन पौडेल, यास्मिन वेगम, नारायणप्रसाद सुवेदी, इन्दिरा सुजुकी, दासुराम पराजुली र शान्ति अधिकारी एनआरएनए आईसीसीको सदस्य मनोनित भएका छन् । त्यस्तै, बैठकले ५१ जनालाई मानार्थ आईसीसी परिषद् सदस्य मनोनित गरिएको छ ।
एनआरएनए आईसीसीका प्रवक्ता डिबी क्षेत्रीका अनुसार बैठकले विभिन्न विभागको जिम्मेवारी पनि टुंगो लगाएको छ । एनआरएनए लगानी समितिको संयोजकमा अध्यक्ष कुमार पन्त, नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा निवर्तमान अध्यक्ष भवन भट्ट, वैदेशिक रोजगारीको संयोजकमा उपाध्यक्ष डा. बद्री केसी, पर्यटन तथा व्यापारको संयोजकमा उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नेपाली नागरिकताको निरन्तरताका लागि संयोजकमा उपाध्यक्ष सोनाम लामा र एनआरएनए नलेज एकेडेमीको संयोजकमा उपाध्यक्ष मन केसीलाई जिम्मेवारी दिइएको छ ।
बैठकले भूपु गोर्खा समन्वय समितिमा चन्द्र गुरुङ, पर्यटन प्रवद्र्धनमा सपिला राजभण्डारी, भाषा तथा साहित्यमा हिक्मत थापा, विदेशमा नेपाली सामानको प्रवद्र्धनमा शिव बरुवाल, एनआरएनए एकेडेमीमा डा. प्रमोद ढकाल, विज्ञान फाउण्डेसनमा डा. राजु अधिकारी, व्यावसायिक शिक्षामा राम थापा संयोजक चयन भएका छन् ।
त्यस्तै, बैठकले मानवीय सहायता तथा परोपकारमा सोनाम लामा, एक एनसीसी एक च्यारिटीमा रविना थापा, नेपाल लाइब्रेरी परियोजनामा नरेश कोइराला, रक्त सञ्चारमा फणिन्द्र पन्त, स्पोर्टस् एकेडेमीमा हिमाल गुरुङ, महिला स्वास्थ्यमा रजनी प्रधान, महिला तथा युवामा रविना थापा, बालबालिका तथा शिक्षामा भूषण घिमिरे र स्वास्थ्य संयोजकमा डा. संजीव सापकोटालाई मनोनित गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
बैठकले एनआरएनएको प्रशासन प्रमुखमा महासचिव डा. हेमराज शर्मा, प्रकाशनमा डिबी क्षेत्री, सदस्यता वितरणमा आरके शर्मा र स्मार्ट एनआरएनएमा गौरी जोशीलाई जिम्मेवारी दिएको छ । त्यस्तै, अनुशासन समितिको संयोजकमा डा. अम्बिका अधिकारी तथा सदस्यहरुमा इन्द्र वन, डा. देवकाजी डंगोल, सूर्य गुरुङ र कृष्ण पाण्डे चयन भएका छन् । बैठकले विधान संशोधन समितिको संयोजकमा भवानी ओलीलाई संयोजक बनाएको छ । समितिको सदस्यहरुमा पुष्प थापा, ओम गुरुङ, रविन वज्राचार्य र विनोद भट्टराई चयन भएका छन् ।
बैठकले नियमावली निर्माण समितिको संयोजकमा धु्रव सुवेदी, पोलिसी एण्ड प्रोसिडर समितिको संयोजकमा रामशरण सिंखडा, संघको आर्थिक स्थायित्व समितिको संयोजकमा महेश श्रेष्ठ, आर्थिक संकलन समितिको संयोजकमा लोक दाहाल र एनआरएनए फाउण्डेशनको संयोजकमा एकनाथ खतिवडालाई जिम्मेवारी दिएको छ ।
एनआरएनए आईसीसी बैठकले ५१ जनाको मानार्थ आईसीसी परिषद् सदस्य चयन गरेको छ । अष्ट्रेलियाबाट धर्मराज अधिकारी, गणेश केसी, गोबा कटुवाल, राजन बस्नेत र दीपक जोशी, बेल्जियमबाट गंगाधर गौतम, रजनी प्रधान, जानकी गुरुङ, शिवकुमार बरुवाल, पारस गौतम र अर्जुन गुरुङ तथा क्यानडाबाट रविन्द्र घिमिरे र नवराज गुरुङलाई मानार्थ आईसीसी परिषद् सदस्य मनोनित गरिएको छ ।
त्यस्तै, फ्रान्सबाट हरिहर अर्याल, जर्मनीबाट सन्तोष भट्टराई र रमेश अर्याल, हङकङबाट प्रकाश पुन र एमबी गुरुङ, जापानबाट किरण विक्रम थापा, भूषण घिमिरे, सुदन थापा, डिलाराम खरेल र कपिलदेव थापा, केन्याबाट सुनील कार्की, कोरियाबाट विनोद कुँवर र मलेसियाबाट शंकरबहादुर पौडेल मानार्थ आईसीसी परिषद् सदस्य मनोनित भएका छन् ।
नेदरल्याड्सबाट शशी पौडेल, नाइजेरियाबाट हिक्मत थापा, पोल्याण्डबाट डा. अलिनी पोख्रेल सुवेदी, पोर्चुगलबाट कुवेर कार्की, कतारबाट कमलमणि गुरागाईं, बिमल सुवेदी र सन्नी ओली, रसियाबाट गोविन्दप्रसाद गौतम, साउदी अरेबियाबाट रमेश भण्डारी, स्पेनबाट दीपक खरेल, थाइल्याण्डबाट भारती लिम्बुनी, संयुक्त अरब इमिरेट्सबाट गोपालप्रसाद कँडेल चयन भएका छन् । बैठकले बेलायतबाट कर्णबहादुर शाही, चन्द्र गुरुङ, रण केसी, विजन भट्ट, चिरन शर्मा, विनोद ज्ञवाली, अमेरिकाबाट कृष्ण लामिछाने,  प्रेम श्रेष्ठ, नविन शेरचन, विकास उप्रेती, वेद बस्नेत र प्रकाश सापकोटालाई मानार्थ आईसीसी परिषद् सदस्य मनोनित गरिएको छ ।

राजनीतिक विवाद उस्तै
एनआरएनएमा अघिल्लो कार्यकालबाट भित्रिएको राजनीतिक विवाद झन्झन झाँगिन थालेको छ । शनिबार सम्पन्न साइबर मिटिङमा समेत फेरि राजनीतिक रंग देखिएको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको नजिक भएका पदाधिकारी र सदस्यबीच बैठकमा विवाद देखिएको छ । एनआरएनए आईसीसी बैठकमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी भन्दै गालीगलौजसमेत भएको थियो ।
एनआरएनएका एक पदाधिकारीका अनुसार बैठकमा अध्यक्षमा पराजित कुल आचार्य प्यानलबाट निर्वाचित केन्द्रीय सदस्यहरुले आचार्य अध्यक्षमा थोरै मतान्तरले पराजित भएकाले सदस्य मनोनित गर्दा ५०–५० प्रतिशत भागबण्डा हुनुपर्ने बताए । उनीहरुले लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै विपक्षमा रहेका व्यक्तिको सम्मानका लागि भए पनि ५० प्रतिशत केन्द्रीय सदस्य आफूहरुले भनेका व्यक्ति छान्न पाउनुपर्ने तर्क गरे । एनआरएनए आईसीसी सदस्य अर्जुन श्रेष्ठले आफूहरु कांग्रेस प्यानलबाट जितेकाले त्यसैअनुसारको व्यवहार गर्न नेतृत्वलाई दबाब दिए । उनी स्वीडेनबाट आईसीसीमा प्रतिनिधित्व गर्छन् ।
पटक–पटक अध्यक्षले रुलिङ गरे पनि बैठकमा अन्य व्यक्तिले समेत पार्टीगत अभिव्यक्ति दिएका थिए । युरोप संयोजक नारायण आचार्यले पनि आफू कांग्रेसबाट एनआरएनएमा प्रतिनिधित्व गरेको भन्दै एकलौटी निर्णय नगर्न नेतृत्वलाई दबाब दिए । उनले आफूले भनेअनुसार केन्द्रीय सदस्य चयन नभएकोमा आपति जनाए । उनले लामो समयदेखि एनआरएनएमा सक्रिय भएका एकराज गिरीलाई सदस्यबाट हटाउन माग गरे । बैठकमा श्रेष्ठ र आचार्य अमर्यादित तरिकाले प्रस्तुत भएका एक पदाधिकारीले बताए । त्यस्तै, अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी पनि बैठकमा अमर्यादित तरिकाले प्रस्तुत भएका थिए । उनले बैठकमै अश्लील शब्द प्रयोग गरेका थिए । उनले महिलालाई अपमान गर्ने गरी महिला उपाध्यक्ष रविना थापा र आईसीसी महिला संयोजक भुमा सुब्बालाई फतौरी आइमाई भनेका थिए ।
महिला सदस्यलाई बैठकमै फतौरी भनेका त्रिपाठीलाई पदाधिकारीले माफी माग्न लगाए भने अमेरिकाबाट प्रतिनिधित्व गरेका आईसीसी सदस्य शंकर खड्काले त्रिपाठीलाई कारबाही गर्न माग गरे । एनआरएनएको आईसीसी बैठकमा अभद्र र आपत्तिजनक शब्दको प्रयोग भएपछि एनआरएनएका अध्यक्ष कुमार पन्तले आगामी दिनमा बैठकमा सहभागी नै नगराउने चेतावनी जारी गरे । उनले आगामी दिनमा सभ्य तरिकाले बैठकमा प्रस्तुत हुन आग्रह गरे । बैठक सञ्चालन गरेका महासचिव डा. हेमराज शर्माले नियन्त्रण नगर्दा यस्तो अवस्था आएको एक पदाधिकारीले जानकारी दिए । अध्यक्षको मन्तव्यपछि त्रिपाठीले गल्ती भएको भन्दै आगामी दिनमा नदोहो¥याउने प्रतिबद्धता जनाए ।
एनआरएनएमा राजनीतिक विवाद निवर्तमान अध्यक्ष भट्ट नेतृत्वको अघिल्लो कार्यकालबाट सुरु भएको हो । अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका कुल आचार्यले नेपाली कांग्रेस र महासचिव रहेका वर्तमान उपाध्यक्ष डा. बद्री केसीले नेकपा प्रतिनिधिका रुपमा बैठकमा प्रस्तुत भएपछि राजनीति विवादले उग्ररुप लिएको थियो । अध्यक्षमा निर्वाचित भट्टले सदस्य मनोनित गर्दा संरक्षक र प्रमुख संरक्षकको जिम्मेवारी दिँदा तथा सल्लाहकार चयन गर्दा एकपक्षीय भएको भन्दै आचार्यले आपत्ति जनाएका थिए । त्यसपछिका बैठक राजनीति विवादमा केन्द्रित भएका थिए । अहिले पनि नयाँ कार्यसमिति आएसँगै विवाद सुरु भएको छ । आगामी बैठक स्न २०२० को दोस्रो हप्तामा नेपालमा बस्ने तयारी भएको एनआरएनएले जनाएको छ ।