समाचार

सेजमा लगानी आकर्षित गर्न पूर्वाधारमा जोड

काठमाडौं । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्रअन्तर्गत सञ्चालनको तयारीमा रहेको ‘गार्मेन्ट प्रोसेसिङ् जोन(जीपीजेड)’मा थप पूर्वाधारको व्यवस्था भए मात्र उद्योग स्थापना गर्न सकिने सरोकारवाला उद्योगीले बताएका छन् ।

अहिलेकै अवस्थामा तयारी पोसाक उद्योग स्थापना गर्न बढी लगानी पर्ने भएकोले पूर्वाधार सुविधा बढाउनुपर्ने उनीहरुको माग छ ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन), इकोनोमिक पोलिसी इन्कुबेटर(इपीआई) र यूके एडले सोमबार काठमाडौंमा आयोजना गरेको ‘एक्सिलेरेटिङ् इन्डष्ट्रियलाइजेसन इन सिमरा जीपीजेड’ नामक अन्तरक्रिया कार्यक्रमका सहभागीले प्रोसेसिङ जोनबाट लाभ लिन यसको संरचनात्मक, प्रशासनिक र पूर्वाधार सुधारमा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् इपीआइका टिम लिडर डा. शङ्कर शर्माले बङ्गलादेशको अनुभवबाट सिकेर तयारी पोशाकलाई नेपालको औद्योगिकरणको आधारको रुपमा उपयोग गर्न सकिने बताए ।

विदेशमा नेपाली तयारी पोशाकको आफ्नो छुट्टै पहिचान रहेकोले यसको बजार मूल्यलाई प्रतिस्पर्धी बनाइ विगतमा जस्तै निर्यात बढाउन सकिने उनको भनाई थियो ।

गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष चन्डी प्रसाद अर्यालले सेजमा उद्योग स्थापनाका लागि कायम गरिएको प्रति वर्गफुट २० रुपैयाँबाट घटाएर ३ देखि ५ रुपैयाँ कायम गर्नुपर्ने माग राखे ।

अहिले सञ्चालनमा रहेका उद्योगले जस्तो किसिमको सुविधा पाइरहेका छन् त्यस्तै सुविधा सेजमा पनि पाएमा मात्र उद्योग स्थानान्तरण गर्न सकिने उनको भनाई थियो ।

घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्याम प्रसाद गिरीले सिमरामा उद्योग स्थापना गर्दा दिने सुविधा मुल्याङ्कन गरेर मात्रै भैरहवा, काठमाडौं अथवा अन्य ठाउँका उद्योग त्यहाँ जान सक्ने बताए ।

उनले कोटा प्रणालीमा निर्भर रहेरभन्दा पनि नेपाली तयारी पोशाकलाई सधै प्रतिस्पर्धी बनाउने गरि सरकारी सहयोग आवश्यक रहेको भनाइ राखे ।
पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले सेजको भाडादर ऐनमा उल्लेख नगरेर यसमा लचक हुनुपर्ने धारणा राखे । सेजमा उद्योग स्थापना गर्दा र बाहिर स्थापना गर्दा हुने लाभको मुल्याङ्कन गरेर सेजतर्फ आकर्षित गराउने रणनीति तयार गर्नुपर्ने उनको सुझाव थियो ।

पूर्वसचिव बिमल वाग्लेले सेजमा व्यवसायमैत्री वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताए । उद्योगलाई स्थानान्तरण गर्दा उद्योगीले थप फाईदा खोज्ने भएकोले सेजमा त्यस्तो सुविधा उपलब्ध गराउनुपर्ने उनको सुझाव थियो ।

पस्मिाना उद्योग सङ्घका अध्यक्ष दुर्गाविक्रम थापाले सेजमा उद्योग स्थापना गर्दा बैङ्क ब्याजदर बढ्दैन भन्ने प्रत्याभूति आवश्यक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घको उद्योग समितिका सभापति अन्जन श्रेष्ठले सेजमा पुराना उद्योग जान पाउने वा नपाउने विषयमा अहिले नै स्पष्टता आवश्यक रहेको बताए ।

उद्योग स्थापना अघि नै सेजसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने उनको सुझाव थियो ।

नेपाल उद्योग परिसङ्घका बैङ्किङ समितिका सभापति अनलराज भट्टराईले सेजमा उद्योगीलाई सुविधा दिनुपर्नेमा जोड दिए ।

महिला उद्यमी महासङ्घ नेपालका द्वितीय उपाध्यक्ष निरु रायमाझी खत्रीले सेजमा स्थापना हुने उद्योगले स्थानीय स्तरमै उपलब्ध हुने कच्चा पदार्थको प्रयोगमा बढी जोड दिनुपर्ने बताइन् ।

कार्यक्रममा सेज प्राधिकरणका कार्यकारी निर्देशक डा. चन्डिका भट्टले गार्मेन्ट प्रोसेसिङ जोनको संरचना निर्माणको अधिकतम काम पुरा भएपनि उद्योग सञ्चालनका लागि आवेदन प्राप्त नभएको जानकारी दिए ।

विद्युत, ढल, पानी आपूर्ति, प्रशासनिक भवन निर्माणजस्ता कामहरु अगाडी बढिरहेपनि उद्योगीले चासो नदेखाएको उनको भनाई छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह सचिव रामचन्द्र ढकालले सेजमा उद्योग स्थापना गर्न उद्योगीलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।