रोचक खवर

अवैध रुपमा अमेरिका छिरेका ५ युवकलाई चार्टर्ड विमानमा नेपाल फर्काइयो

काठमाडौं । अवैध रुपमा अमेरिका पुगेका ५ जनालाई अमेरिकी सरकारले नेपाल फिर्ता गरेको छ ।

५ नेपाली र ३ पाकिस्तानी नागरिक लिएर अमेरिकाको चार्टर्ड जहाज बुधबार काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

नेपालबाट आप्रवासीका रुपमा अमेरिका रहने गरी दलाललाई ठूलो रकम तिरेर अमेरिका पुगेका उनीहरु अमेरिकी अध्यागमनको हिरासतमा थिए ।

गैरकानूनी बाटो समाएर अमेरिका पुगेका उनीहरुलाई लामो समय अमेरिकी हिरासतमा राखेर बुधबार मात्र नेपाल पठाइएको हो ।

विमानस्थल प्रहरीका अनुसार रूकुम स्यालापाखा, ९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल क्षेत्रीलाई अमेरिकाले नेपाल फर्काएको हो ।

उनीहरुलाई जहाज भित्र समेत हतकडी लगाएर ल्याइएको थियो । नेपालमा आएपछि मात्र हतकडी खुला गरिएको हो ।

नेपाल तथा भारतका दलाल मिलेर उनीहरुलाई विभिन्न मुलुकको बाटो हुँदै अमेरिका लगेको बताइएको छ ।

प्रहरीले उनीहरुको वयानपछि दलालको खोजी गर्ने बताएको छ ।

अमेरिकाको स्थायी बासिन्दाका रुपमा आप्रवासीको मान्यता पाउने लोभमा दलाललाई ठूलो रकम तिरेर गएका उनीहरुलाई अमेरिकी अध्यागमनले पक्रिएर राखेको थियो ।

नेपालबाट सुखको लोभमा नेपालमा भएभरको सम्पत्ति बेचेर यसरी अलपत्र पर्ने नेपालीको संख्या बढ्दो क्रममा रहेको छ ।