खेलकुद

बार्सिलोना र रियलले अंक बाँडे

बार्सिलोना । स्पेनिस ला लिगा अन्तर्गत संसारभर सम्भवतः धेरै मानिसले प्रत्यक्ष प्रसारण हेर्ने एल क्लासिकोको पहिलो खेल बिहीबार बिहान सम्पन्न भएको छ ।

बार्सिलोना र रियल म्याड्रिडबीचको खेल बराबरीमा टुंगिएसँगै दुबै टोलीले अंक बाँडेका छन् ।

करीव ९५ हजार दर्शक मैदानमा उपस्थित भएको खेलमा दुबै टोलीले गोलका अवसर सिर्जना गरेपनि गोल भने हुन सकेन ।

खेलमा रियल हावि भएपनि गोल गर्न सकेन् । बार्सिलोनाका कप्तान लियोनल मेसीका दुई खतरनाक प्रहार रियलका गोलकिपरले बचाएका थिए ।

बराबरीपछि साविक विजेता बार्सिलोना लिगको शीर्ष स्थानमा कायम छ । दुवै क्लबको १७ खेलबाट समान ३६ अंक भएको छ ।

गोल अन्तरमा बार्सिलोना अगाडी छ । खेल बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको हो ।

एल क्लासिको २६ अक्टोबर मै हुनुपर्ने थियो । तर, स्पेनको क्याटलोनियामा भएको राजनीतिक प्रर्दशनका कारण स्थगित भएको थियो ।