समाचार

बुटवल “सडक मानव” मुक्त सहर घोषित

बुटवल । मागेर दिनचर्या बिताउनु पर्ने बाध्यतामा रहेका सहयोगापेक्षी बेसहाराहरुलाई व्यवस्थापन गर्दै वुटबल उपमहानगरपालिका सडक मगन्ते मानवमुक्त सहर घोषणा भएको छ ।

शनिबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सामाजिक विकासमन्त्री सुदर्शन बराल, पर्यटनमन्त्री लिला गिरी, नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र मानवसेवा आश्रमका प्रतिनिधिले संयुक्त रूपमा बुटवलाई सडक मानवमुक्त घोषणा गरेका हुन् ।

यस सहरलाई मानव सभ्यतासहितको मानवअधिकारमैत्री नगर निर्माण गर्ने घोषणा पनि कार्यक्रममा गरियो ।

मन्त्री केसीले प्रदेश सरकारको ‘समृद्ध प्रदेश खुसी जनता’ अभियानको एक अंशका रुपमा यस अभियानलाई लिनु पर्ने उल्लेख गरे ।

पछिल्ला दिनमा बुटवल सुरक्षित सहरका रुपमा स्थापित भएको भन्दै उनले अब सडकमा माग्न पर्ने अवस्थाको पनि अन्त्य भएको उल्लेख गरे ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले छिट्टै सम्पूर्ण प्रदेशलाई नै सडक मानवमुक्त बनाउने गरी काम भइरहेको बताए ।

उक्त अभियानमा स्थानीय तहहरु अग्रसर हुनुपर्ने उनको भनाई छ ।

मानव सेवा आश्रमसँग सहकार्य गरी सडकमा बेसहारारूपमा जीवन बिताइरहेका व्यक्तिलाई उद्वार, उपचार र आवासको व्यवस्था मिलाउने काम सम्पन्न भएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।

एक वर्षसम्म चलेको यस अभियानका दौरान ११७ जनालाई उद्दार गरिएको छ ।