फिचर

अमेरिकामै हिंसा भोग्दै महिला

कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका
अमेरिकामा बसोबास गर्दै आएका नेपाली तथा दक्षिण एसियाली महिलाले बिभिन्न किसिमका हिंसा खेपिरहेको यथार्थ बाहिर आएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) न्यूयोर्क च्याप्टरले गत शनिबार आयोजना गरेको महिला सम्मेलनमा महिला र मानव अधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मीले अमेरिकामा रहेर पनि नेपाली महिलाहरु हिंसाको शिकार हुनुपरेको बताएका हुन् । कार्यक्रममा अमेरिकाको राष्ट्रिय जनगणना, इमिग्रेसन अफडेट, स्वास्थ्य, शिक्षा, लैङ्कि समानता, सामाजिक न्याय, क्षमता अबिबृद्धि तालिम लगायत विषयमा छलफल गरिएको थियो ।
श्रीमान तथा श्रीमती बिचमा कुरा नमिलेमा बिभिन्न हिंसाको शिकार बनाएर उल्टै जेल हाल्ने, नेपालमा श्रीमती छोराछोरी छोडेर यता आएका श्रीमानले अर्कै बिबाह गर्ने र परिवारको बिचल्ली बनाउने, महिला मात्र होइन पछिल्लो समय श्रीमती बिदेशिएका पुरुषहरु पनि पीडित भएको, कतिपयले परिवारलाई यहाँ ल्याएर छाडिदिएको, कुटपीट, घर निकाला, मानसिक तनाव जस्ता समस्या भोगिरहेको बताइएको छ ।
न्यूयोर्कको क्विन्समा कार्यरत संस्था अधिकारकी कार्यक्रम निर्देशक नर्बदा क्षेत्री भन्छिन्, ‘श्रीमती छोराछोरी छोडेर यता आएपछि श्रीमान बेपत्ता हुन्छन्, कतिले त मलाई नेपालदेखि इमेल पठाएर मेरो श्रीमान खोजिदिनुस भन्छन्’ कार्यक्रममा बोल्दै उनी भन्छिन्, यस्ता खालका समस्याले परिवार मात्र होइन बालबालिकाको भविश्यमा समेत असर पर्दै गएको छ ।’
साना तिना विषयलाई ठूलो बनाएर डिभोर्स गर्ने चलन नै बनिसकेको छ । नेपालमा छउन्जेल मायाप्रेम राम्रै भएकाहरु पनि यता आएसकेपछि श्रीमती मोटी भइ, नराम्री भइ केही जान्दिन भन्ने जस्ता साना तिना कुरालाई इस्यु बनाएर परिवार बिखण्डन गरिरहेका छन् । यस्ता विषयमा बहस गर्न पनि गाह्रो छ ।


कतिपय अवस्थामा महिलाले नै पुरुषलाई ठगिरहेको, हिंसाको शिकार बनाएको मुद्धाहरु पनि हेरिरहेको क्षेत्री बताउँछिन् ‘श्रीमान श्रीमती बिच कुरा नमिले छुट्टिएर बसे हुन्छ तर, बच्चाहरु माथि कसैले अन्याय नगरोस् ।’ अहिले न्यूयोर्कमा पैसाको कारोबारमा ठगिएका, काम अनुसारको पारिश्रमिक नपाएको, ढिकुटी लगायतको समस्या पनि बढ्दै गएको छ । सबै मिलेर ढिकुटी खेल्छन्, पैसा लिएर एउटा भागिदिन्छ । अन्य मान्छेसंग कानुनी हिसाबले लड्न सजिलो छ । सबैले चिनेको भएर नेपालीसंगै लड्न चै निकै गाह्रो हुन्छ । काम गरे अनुसारको तलब नपाएको एउटा मुद्धामा ३ सय अमेरिकी डलर दिने ठाउँमा एक नेपालीले अर्को नेपालीलाई २० हजार डलर तिर्नुप¥यो । गत वर्ष मात्रै हामीले ६९ मुद्धा हेरेर ४ सय थाउजेन्ड अमेरिकी डलर उठाइदिएका थियौं ।
एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी भन्छन्, ‘महिलाले नै महिलाका समस्या बुझ्ने भएकाले हामीले एनआरएन लगायत न्यूयोर्ककमा सञ्चालित संघ संस्थाहरुमा महिला सहभागिता बढाउनु पर्ने विषय उठाइरहेका छौं । आगामी हुने एनआरएनको निर्वाचनमा उपाध्यक्ष पदमा महिला कोटा सुरक्षित राख्न पहल गरिरहेका छौं ।’
जर्सी सिटी मेयरकी सल्लाहकार तथा महिला अधिकारकर्मी विष्णुमाया परियार भन्छिन्, ‘पछिल्लो समय नेपाली समुदायमा डोमेस्टिक भ्वाइलेन्स र सेक्स्युअल एब्युजका घटना बिकराल भइसकको छ । यस्ता खालका मुद्धामा काम गर्दा निकै डर, त्रास र समस्या भोग्नु परिरहेको छ । पीडितलाई न्याय दिलाउन खोज्दा मेरो घर बिगारिस भनेर धम्क्याउनेहरु थुप्रै छन् ।’
श्रीमानले श्रीमती माथि कति सम्म हिंसा गरेको छ भने श्रीमतीलाई बिभिन्न खाले यातना दिएर पागल भनेर मेन्टल हस्पिटल भर्ना गरेर बालबच्चाबाट टाडा पारेको सम्म भेटियो । ती महिलालाई डाक्टरहरुले सोध्दा भाषाको समस्याले आफ्नो कुरो भन्न सकिनन् । हिन्दी बोल्ने दोभाषेले पनि ती महिलालाई आफ्नो कुरा बुझाउन नसकेपछि त्यो डाक्टरको बेबी सिटर नेपाली भएकोले नेपालीमा लेखेर डाक्टरलाई दिएको कागज बेबी सिटरले डाक्टरलाई पढेर सुनाएपछि मात्रै महिलाको समस्याबारे बुझेका थिए । यति सम्म भाषाको समस्या खेप्नुपरिरहेको छ । भाषाको समस्याले गर्दा पनि महिलाले थप हिंसा भोग्नु परेको पाइएको छ ।

न्यूयोर्कमा कार्यरत एटोर्नी एट ल शिब खनाल भन्छन्, लिगल स्टाटसको डरले पनि कतिपय महिलाहरु हिंसा सहेर बस्न वाध्य छन् । ‘पुलिसलाई भन्दा मलाई डिपोर्ट गर्ने हो कि भन्ने डरले सहन नसक्ने अवस्थामा आइपुग्दा पनि भन्न चाहादैनन् । तर, इमिग्रेसनको समस्या संग हिंसाको कुनै सम्बन्ध हुँदैन । जस्तो सुकै इमिग्रेसन स्टाटसमा भएका महिलाले पनि आफुलाई अफ्ठेरो परे पुलिस रिपोर्ट गर्न सक्छन्’ खनाल भन्छन् ।
एनआरएनए न्यूयोर्क च्याप्टरकी महिला संयोजक राज्य कर्माचार्याले महिलाको समस्याको पहिचान गरेर उनीहरुलाई न्याय दिलाउनका लागि बिभिन्न महिला अधिकारमा काम गर्ने संस्थासंग लिङ्क गराउने, भाषा कक्षा लगायत बिभिन्न तालिम दिलाउन पहल गर्ने बताइन् ।