फिचर

महासंघको जम्बो टोली यूरोप प्रस्थान

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको जम्बो टोली यूरोप भ्रमणमा निस्किएको छ । नेपाल र यूरोपेली राष्ट्र बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महासंघको व्यवसायिक प्रतिनिधीमण्डल यूरोप प्रस्थान गरेको महासंघले उल्लेख गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न यूरोप भ्रमणलाई लक्षित गरी महासंघको टोली यूरोप लागेको हो ।

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा ५७ सदस्यीय महासंघको प्रतिनिधिमण्डल सोमबार स्वीजरल्याण्डतर्फ प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलले स्वीजरल्याण्डसहित फ्रान्स, जर्मनी, बेल्जियम, इटाली र नेदरल्याण्डको भ्रमण गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा बेल्जियम र फ्रान्समा व्यवसायिक भेटवार्ताको योजना समेत रहेको छ । सो क्रममा प्रतिनिधिमण्डलले आर्थिक\व्यवसायिक सम्बन्ध विस्तारका साथै नेपालले आयोजना गर्न लागेको भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने पनि महासंघले उल्लेख गरेको छ ।

प्रतिनिधिमण्डलले सो अवसरमा हुने व्यवसायिक भेटवार्तामा नेपालमा रहेको लगानीको वातावरण, नीतिगत सुधार आदिका विषयमा समेत प्रष्ट पार्ने महासंघले जनाएको छ ।

भ्रमणको क्रममा महासंघको प्रतिनिधिमण्डल अन्तराष्ट्रिय श्रम संगठनको जेनेभामा हुने बैठक तथा प्रधानमन्त्रीको फ्रान्स भ्रमणका क्रममा हुने बैठकहरूमा समेत सहभागी हुने छ ।

यूरोप र नेपालका व्यवसायीहरू बीच अनुभव आदान–प्रदान हुने यस किसिमको व्यवसायिक भ्रमण महत्वपूर्ण हुने प्रतिनिधिमण्डलका नेता एवं महासंघका उपाध्यक्ष प्रधानले बताए ।

 

महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघका प्रदेश नं। १ का अध्यक्ष नरेन्द्र कुमार खड्का, कार्यकारिणी समिति सदस्य मनिषलाल प्रधान, निवर्तमान कार्यकारिणी समिति सदस्य सुदर्शन कार्की, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी एवं प्रतिनिधि उद्यमी व्यवसायीहरू छन् ।