समाचार

ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

काठमाडौं । राष्ट्रिय टोलीले विश्वकप छनोटमा खेल्न विदेश उड्नु एक दिन अगाडी क्लोज क्याम्पबाटै भागेर ठमेलको नाइट क्लवमा पुगेका चार खेलाडीमाथिको कारवाही घटाइएको छ ।

उक्त काण्डमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले कारवाही गरेको थियो ।

एन्फाले चारै जना खेलाडीको कारवाही घटाएको छ । एन्फाको अनुशासन समितिले उनीहरूलाई निलम्बनसम्बन्धी निर्णय लागू हुने मिति परिवर्तन गर्दै सजाए घटाइदिएको हो ।

एन्फाले १३ डिसेम्बर २०१९ देखि लागु हुने गरी विमल घर्तीमगर र डिफेन्डर दिनेश राजवंशीलाई तीन महिना निलम्बन गरेको थियो ।

मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङका लागि ४५ दिनको निलम्बन थियो ।

अब भने एन्फाले खेलाडी नाइट क्लबमा गएको दिनदेखि गणना गर्ने निर्णय लिएको छ । यसअनुसार अब खेलाडीको प्रतिवन्ध कम भएको छ ।

उनीहरुको निलम्बन १६ नोभेम्बर २०१९ बाट गणना हुने भएको हो । यसअनुसार यी खेलाडीले जारी सहिद स्मारक ए डिभिजन लिगमा भाग लिन पाउने बाटो समेत खुलेको छ ।

फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरूद्ध खेल्न भूटान उड्ने अघिल्लो रात उनीहरु ठमेलको नाइट क्लवमा पुगी रक्सीले मात्तिएका थिए ।