कला / साहित्य

लघुकथा : स्कुलकी प्रेमिका

प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

प्रेम त मैले पनि गरेको छु । तर एउटा मौनतामा सुरु भएर मौनतामै दुखद अन्त्य भएको प्रेम । एउटा कायर प्रेम । जुन प्रेमको सबुत, आज आएर मसँग एक थान प्रेमपत्र पनि छैन । जुन प्रेमको कथा लेख्नु असाध्यै गाह्रो कुरा हो । एउटा मौनता स्वयम् मौन भएर कथाको दावी नै कसरी गर्न सक्छ र ? भनुँ, मेरो कथा दुई थोपा आँसु हो, एउटा खालि पाना हो, अझ यो भनुँ, एउटा मौनता मात्र नै हो ।

यो कथा जोडिएको छ ‘ऊ’ सित । जोसित स्कुले जीवनभरि मैले दुई शब्द पनि बोलिनँ । जस्को समिपतामा पनि मेरो दिलको धडकनको तिब्रता दुईले गुनिन्थ्यो । उस्को एक नजरमा पनि संसार जितेको सिकन्दर खुसी मनाउथेँ । सायद अहिलेका चुम्वनहरु पनि त्यो बेलाको एक प्रेमिल नजर जति नहाँस्दो हो । धेरैको नजरको पर्खाल चिरेर हेर्नु पर्ने फगत एक नजर । आज समयको परिवर्तनसँगै यो हिम्मत आएको छ, यो कथा मेरो र ‘ऊ’ अर्थात मेरो स्कुलकी प्रेमिकाको हो ।

सरले क्लास लिनुहुन्थ्यो । मेरो नजर समय समयमा उस्को अनुहार पढन पुग्थ्यो । यति सुख अनुभव गर्थे । उसैलाई लिएर मनले मीठा मीठा सपना बुन्थ्यो । प्रेमिका बनाएर प्रेमिल पथमा फूल टेक्दै हिँडन मन लाग्थ्यो, तर मनमा त्यस्तो हिम्मत नै कहाँ थियो र ? समाजको डर, साथीहरुको डर र आफैसित आफैको डर । डरै डरको काँडाबीच फुलेको एक अबला फूल, मेरो प्रेम । भोलि दिन्छु भनेर किटावमै ओइलाएको एक गुलाफ, मेरो प्रेम । उस्को प्रेम पनि सायद एउटा कमजोर पखाई नै हुनुपर्छ त्यो बेला ।

उस्को प्रेमको वारेमा त झन के भनुँ ? एक नजर हेर्न पनि डराउँथ्यो । नजर जुध्दा पनि अन्तै नजर मोडथ्यो । त्यतिबेला आफ्नै धडकन छामेर, उस्को धडकन अनुभव गर्न सकिन्थ्यो ।

समय बित्दै गयो । स्कुले जीवन सकिएको पनि आज आएर पच्चीस वर्ष भइसकेको छ । बीचको त्यो लामो सुन्यतामा उस्ले पनि कोही पुरुषलाई र मैले पनि कोही नारीलाई जीवनसाथी बनायौँ । भन्ने नै हो भने पच्चीस वर्षको त्यो अवधिमा, एक अर्काको लामो अदेखमा ‘त्यो प्रेम’ पनि कतै बिलाएकै थियो कि जस्तो लाग्छ । जीवनमा आउने हरेक सुखमा उस्को हाँसो छुटेको र जीवनमा आउने हरेक दुखमा उस्को आँसु सुकेकै महसुस गरियो । बाँचिदिने क्षणहरुमा केही क्षणले उस्को स्मृति रंगाएर नझस्काएको पनि होइन । तर हत्केलाको रेखा हेर्दै अगाडि डोरिएँ । यो भयो हिजोको कुरा ।

समयको बदलावसँगै आज हामी फेसबुक, मेसेन्जरसँगै अन्य धेरै प्रविधिमा जोडिएका छौँ । अझ दैनिकीमा पनि दुईपटक ठोकिन्छौँ । मैले बाँचेको भूगोलमा उस्ले पनि सास फेरिरहेको छ । मेरो दैनिकीमा ठोकिँदा मुसुक्क हाँसेर, उस्ले, मेरो प्रेमलाई आज यो बदमास समयमा पनि जिस्काइरहेको छ । बाटोमा भेट हुँदा बोल्छौँ,कता जाने, के छ ? अझ फेसबुक र मेसेन्जरमा त यो भन्दा धेरै नै खुलेका छौँ ।

एकदिन छोरालाई बजारतिर डुलाउन हिँडदा, आफ्नी छोरीसित आउँदै गरेकी मेरी स्कुलकी प्रेमिकासित बाटोमा भेट भयो ।

अरु बेला जस्तो सामान्य हाइहेलो त भयो । सामान्य भलाकुसारी पछि मेरो बुढो रोमान्टिक मनले कुरै कुरामा उस्लाई सोधें;

‘मैले तिमीलाई त्यो बेला प्रेमप्रस्ताव गरेको भए तिमी के भन्थ्यौं ?’

उस्ले थोरै पनि शर्म नमानी भनी, ‘म तिम्रै प्रेम प्रस्तावको पर्खाइमा थिएँ । तिमीबाट कहिले प्रस्ताव आएन ।’

‘प्रस्ताव त तिमीले पनि गर्न सक्थ्यो नि ?तिमी पनि त मौनतामै अल्झियौ त ’

‘म एक नारीमा पुरुषमै बिलाएको साहस कसरी उम्लिन्थ्यो र ?’

‘आज प्रस्ताव गरे के भन्छयौ तिमी ?’ मैले जिस्काएर सोधेँ ।

‘आज पनि यस नै भन्ने हो । मलाई गर्लफ्रेण्ड बनाउने हिम्मत छ ?’ ऊ हाँसी मरी मरी । त्यो त म भन्दा झन खतरा पो भएर निस्की । म अवाक बनेँ उस्को चोटिलो ठट्टामा ।

एउटा पुरानो प्रेम, समयको त्यो सुन्यतामा हामी दुवैको गाला चिस्याएर बिलायो । सायद यो संसारकै सुन्दर प्रेमलाई अनुभूत गर्ने यो दुनियाँमा कोही थियो त ऊ र म मात्र । सँगै पढेका क्लासका साथीहरुको निम्ति पनि हामी एउटै क्लासमा दसौं वर्ष पढेर पनि एक वचन पनि नबोलेका सहपाठी मात्र थियौँ । मैले मन बुझाएँ, उहिलेका प्रेमहरु यस्तै हुन्थे । मौनतामा फुल्थ्यो, मौनतामै ओइलाउथ्यो । मेरो प्रेम त खालि पानामा एउटा शब्दमा पनि कोरिएन । अहिलेका प्रेम हेर, फेसबुकभरि कति फोहर छ । मेसेन्जरमा कति अश्लील छ ।

उस्को कुरा सुनेर मैले समयलाई मात्र धिकारेँ । म पच्चीस वर्षअघिको स्टुडेन्ट भएकोमा पछुतो मानेँ ।

त्यति नै बेला मेरो दश वर्षको छोराले उस्की सात वर्षकी छोरीको हात च्याप समात्यो । उस्की छोरीको हात समातेको हो, उस्को गाला रातो भयो । अझ मेरो छोराले उस्की छोरीको गालामा एक चुम्बन दिइहाल्यो । ऊ अझ राती भई ।

मेरो बुढो मन आज आएर रोमान्टिक थियो जो हिजो किशोर हुँदा निकै उदास, सुष्क र डरपोक थियो । बुढो मन अझ रोमाण्टिक हुँदै बोल्यो;

‘तिम्री छोरी निकै मायाबी छे हेर न मेरो छोराले सम्हाल्नै सकेन । ’

ऊ हाँसी मरी मरी ।

‘तिम्रो छोरा पनि कम्ती प्लेब्वाय छ र ? हेर न मेरी छोरीलाई गालामा किस गरिहाल्यो ।’

उस्को बुढी मन पनि आज आएर निकै रोमान्टिक भइसकेको रहेछ । हरेक कुरा पनि कति सहज, कति पाच्य ।

हामी यसरी नै रोमाण्टिक कुरा गर्दागर्दै त्यो दिन छुटियौं।

घरमा आएर पुराना दिनहरु सम्झेर बसेँ । पच्चीस वर्ष पुरानो एउटा गुलाफको फूल जो मरेर कितावमा धुलो भइसकेको थियो । हेरेँ, हेर्दाहेर्दै आँसुको एक थोपा गहमै चिप्लियो । यस्तो लाग्यो, त्यो फूलले मलाई सराप्दै छ ।

उस्को कुरा सम्झेँ, तिम्रो छोरा पनि कम प्लेव्वाय छ र ? हेर न मेरी छोरीको गालामा किस गरिहाल्यो…

मैले भगवानलाई मात्र धिक्कारेँ, जस्ले मलाई पच्चीस वर्षअघि स्कुलको स्टुडेन्ट बनाएर मसित एउटा रोमाण्टिक प्रेम छिन्यो । मेरी स्कुलकी प्रेमिकालाई पनि आजको समय र प्रेमसित डाहा लाग्दो हो, मलाई जस्तै ।

कति पवित्र हुन्थ्यो त्यो बेला कागजमा फुल्ने चुम्वनहरु । तर एउटा मानव जीवन सार्थक बाँच्ने हो भने त अहिलेको प्रेम पो प्रेम हो नि ।

फेरि उस्को अर्को कुरा सम्झेँ, ‘आज पनि यस नै भन्ने हो ।’

बुढो मन रोमाण्टिक बन्दै थियो । हठात नजर छोरातिर गयो । सारा रोमाण्टिक कल्पनाहरु भत्कियो । उस्को भविष्यको चिन्ता लाग्यो ।

डायरी लिएँ, यति मात्र कोरेँ,

समयमै प्रेम चिनेर नैतिकतामा गरे, त्यो प्रेम उपहार हो

अनैतिक भएर गरेको प्रेम, प्रेम नै भए नि, व्यभिचार हो

साँच्चै, साँच्चै मलाई आजको मोर्डन प्रेमसित निकै लोभ छ, मेरी स्कुलकी प्रेमिकाको लोभ पनि यही लोभसित गाँसिएर बसेको हुनुपर्छ । अनि एक पुस्ता अघिका प्रेमिल मनहरुलाई सोध्न मन लाग्छ, तिमीहरुको प्रेम पनि यस्तै थियो ? स्कुलकी प्रेमिकालाई ‘गर्लफ्रेण्ड’ बनाउने चाहना तिमीहरुलाई पनि आज पनि छ ? कि मेरो मनको बैंश मात्र यति भरिलो छ ? हिजो पच्चीस वर्षअघि भित्र भित्र मन पराएर पनि एक नजर नहेर्ने तर पच्चीस वर्षपछि आफ्नो श्रीमान हुँदाहुँदै पनि ‘आज पनि यस नै भन्ने हो’ भन्ने स्कुलकी प्रेमिकालाई सम्झी मुसुक्क हाँसे ।

समय जति मोर्डन भए पनि आज आएर मेरो बुढो ‘आइ लभ यु’ र तिम्रो त्यो बुढो ‘यस’ हाम्रो समाजलाई पचेको छैन । यो भन्दा अघि बढे ब्यभिचार हुन्छ । खराव समयको फाइदा लिएर उहिलेको एक प्रेमको सच्चाइलाई अपमान पनि नगरौँ । मेरी स्कुलकी प्रेमिका मलाई माफ गर, आज आएर, हाम्रो सम्वन्धको सीमा यति नै हो ।

उस्को त्यो छिपिएको, चाउरिएको र मक्किएको ‘यस’ले मलाई रातभरि भावुक बनायो । म आफूलाई बलैले सम्हालेँ । त्यो प्राचीन प्रेम कुनै सुन्दर युवतीले आफ्नो अनुहारभरि छरिएको केश पन्छाए जस्तो त्यो रातको लागि पन्छाएँ । मनमनै स्वीकारेँ, स्कुलकी प्रेमिका यस्तै हुन्छे र पहिलो प्रेम यस्तै हुन्छ । होसियार, जीवन बाँकी रहञ्जेल जहिले पनि ब्युँझिन सक्छ । चालीस, पचास, साठी,अस्सी, नब्बे र सय उमेरको लेखाजोखा छैन । स्कुलकी प्रेमिकाको पच्चीस वर्षपछिको ‘यस’ले अझै मलाई समय समयमा सताउँछ ।

Sent from my iPhone