फिचर

उपत्यकाका मेयरलाई दायाँबाया राखेर योगेशले भने : राजधानी ६ बजे नै सुत्न भएन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौं पर्यटकीय शहर भएकाले ६ बजे नै सुत्न नहुने बताएका छन् ।

बुधबार भ्रमण वर्षका अवसरमा राजधानीका सबै स्थानीय तहका प्रमुखसँगको छलफलमा मन्त्री भट्टराईले काठमाडौंमा रात्रिकालिन जीवन ब्यूझाउन आग्रह गरेका छन् ।

कुनै पनि पर्यटकीय शहर ६ बजे नै बन्द नहुने भन्दै उनले राजधानीमा रात्रिकालिन जीवन सक्रिय बनाउन आग्रह गरे ।

उनले त्यसको वातावरण बनाउन स्थानीय सरकारहरु समक्ष आग्रह गरेका छन् । काठमाडौंमा १० बजेपछि र्नै प्रहरीले पसल बन्द गराउँदै हिड्छ । ७ बजेपछि सार्वजनिक यातायात पाइदैंन ।

जसले गर्दा राजधानीमै पर्यटकले रात्रीकालिन रमझम देख्न पाउँदैनन् । विदेशमा भने दिउँसो भन्दा रातीमा बढी शहर चहलपहल हुने गरेको छ ।

नेपालले भ्रमण वर्ष मनाउन थालेको सन्दर्भमा काठमाडौं समेत रातीसम्म खुल्नु पर्ने आवाज लामो समयदेखि उठ्दै आएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत १८ वटै नगरपालिकाका प्रमुखले भ्रमण वर्ष सफल बनाउने प्रतिवद्धता व्यक्त गरे ।