समाचार

रिजउडमा बन्ने दुर्गा मन्दिरको भवन नक्सा पास

कल्पना घिमिरे

न्यूयोर्क/अमेरिका
रिजउडमा बन्ने भनिएको दुर्गा मन्दिर र नेपाली सांस्कृतिक केन्द्रको भवनको नक्सा पास भई निर्माण कार्य प्रक्रिया अघि बढेको छ । रिजउड नेप्लिज सोसाइटिले आइतबार ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी महापूराणमा दान कबुल गर्ने दाताहरुलाई जतिसक्दो चाँडो रकम दिन आग्रह गरेको छ ।
न्यूयोर्कमा नेपालीहरुको सामुदायिक भवन र दुर्गा मन्दिर स्थापना गर्ने उदेश्यले नै सन् २०१७ अगस्ट २३ देखि २९ सम्म ज्याक्सन हाइटमा महापूराणको आयोजना गरिएको थियो । महापूराणको दुई वर्ष भित्रमा भवन निर्माण कार्य थालनी गर्ने भनिए पनि नक्सा पास गर्न निकै झमेला र अफ्ठेरो खेप्नु परेकोले समयमै सुरु गर्न नसकिएको सोसाइटिले जनाएको छ । ‘तर, दुई वर्षको अथक प्रयास पछि हामी नक्सा पास गर्न सफल भएका छौं’ भवनको नक्सा तयार गर्ने इन्जिनियर सूर्य लम्सालले भने, ‘भवन बेसमेन्ट सहित चार तल्लाको हुनेछ । भवनको क्षेत्रफल ८ हजार ३ सय ५० वर्ग स्क्वाएर फिट हुनेछ ।’ मन्दिरको ठेगाना १६–४७, हेन्कक स्ट्रिट, फ्लसिङ न्यूयोर्क, ११३८५ हुनेछ ।


दुर्गा मन्दिर बिधान २०१९ अनुसार मन्दिरको संस्थापक बन्नका लागि डिसेम्बर ३१, २०१९ सम्ममा कबुल गरेको रकमको ५० प्रतिशत बुझाउनु पर्नेछ भने जुन ३०, २०२० सम्ममा पुरै रकम दिइसक्नु पर्नेछ । मन्दिर बनिसकेपछि संस्थापक (फउन्डिङ मेम्बर) बन्ने ब्यवस्था छैन ।
सोसाइटिले विगतमा दुई वटा महापूराण आयोजना गरेको थियो । सन् २०१० र २०१७ मा गरिएको महापूराणबाट २२ लाख ३ हजार ६ सय ५३ अमेरिकी डलर संकलन हुने कबुल गरिएको थियो । तत्काल रकम दिन नसक्ने दाताहरुबाट कबुल गरिएको रकममध्ये हालसम्म आधा रकम पनि भुक्तानी भएको छैन । त्यसमध्ये हालसम्म ८ लाख ११ हजार ३ सय ६३ अमेरिकी डलर नगद भुक्तानी भएको छ ।

कबुल गरेको रकम छिट्टो दिन दाताहरुलाई अनुरोध

१३ लाख ९२ हजार २ सय ८९ अमेरिकी डलर रकम उठ्न बाँकी रहेकाले उक्त रकम छिट्टै भुक्तानी गर्न अनुरोध गरिएको हो । ‘हामीलाई अहिले काम सुरु गर्नै समस्या परेको छ’ सोसाइटिका अध्यक्ष राजेश भट्ट भन्छन्, ‘यस्तो पबित्र कार्यमा कबुल गर्नुभएको दान भुक्तान गरेर अब हामीलाई मन्दिर निर्माण कार्यमा सहयोग गर्नुस् ।’ हालसम्म उठेको ८ लाख रकम बाट जग्गा किनेको, आर्किटेक्टलाई तिरेको र महापूराणमा भएको खर्च कटाएर हाल २ लाख मात्र खातामा जम्मा रहेको जनाइएको छ । नपुग रकम बैंकबाट ऋण लिने र अन्य दाताहरुको खोजी गर्ने काम पनि भइरहेको अध्यक्ष भट्टले बताए । ‘सन् २०२० को जुन महिना भित्र सबै रकम बुझाउनु हुन बिशेष अनुरोध गर्दछौ’ उनले भने । आगामी जुन महिना भित्र उठाउनु पर्ने दान रकम उठाई भवन निर्माणको जमिन खन्न अनुमति लिने सोसाइटिको योजना छ ।
महापूराणमा ९ सय ९६ दाताहरुले मन्दिर निर्माणका लागि दान दिने कबुल गरेका थिए । जसमध्ये १८० जनाले ५ हजार अमेरिकी डलर भन्दा माथि दान कबुलेका थिए भने १२ जनाले ३० हजार अमेरिकी डलर भन्दा माथि दान दिने प्रण गरेका छन् । अधिकांशले मन्दिर बन्ने खबर सुनेर उत्साहका साथ कबुल गरेको रकम बुझाइरहेको पनि सोसाइटिले जनाएको छ ।
न्यूयोर्कमा सञ्चालित बिभिन्न संघ संस्थाहरुले निकै ठूलो रकम दिने प्रण गरेका थिए । तर, दुई वर्ष बितिसक्दा आधा रकम पनि बुझाएका छैनन् । त्यतिबेला प्रवासी नेपाली मञ्चले १ लाख ११ हजार १ सय ११ दिने कबुल गरेको थियो । हालसम्म २४ हजार मात्र बुझाएको छ । सुरुवाती चरणमा नियमित मासिक बुझाउँदै आएपनि बिचमा केही बिबादित बिषयमा सोसाइटि अग्रसर भएकाले केही समय रकम रोकिएको मञ्चका पूर्व अध्यक्ष सञ्जय थापाले जानकारी दिए । ‘सरकारको प्रतिनिधित्व गर्दै नेपालबाट आएका प्रधानमन्त्री, मन्त्रीहरु हाम्रा अथिति हुन् उनीहरुलाई दुव्र्यवहार गर्नु गलत हो भन्ने सोसाइटिले बुझ्नु पर्छ’ उनले भने, ‘सोसाइटिले गल्ती गरेको महसुस गरिसकेपछि हामीले यही डिसेम्बर महिनाबाट पुन रकम भुक्तानीलाई निरन्तरता दिएका छौं । हामीले मन्दिर निर्माण कार्यमा सहयोग होस र हाम्रो देखेर अन्य दाताहरुलाई पनि प्रोत्साहन मिलोस भन्ने ठानेर संस्थाका साथीहरुसंग छलफल गरीकन यति ठूलो रकम घोषणा गरेका हौं ।’
नेपाली जनसम्पर्क समितिले १ लाख २५ हजार कबुल गरेकोमा हालसम्म ५ हजार २५१ मात्रै बुझाएको छ । रकम संकलनका लागि समितिका सभापित आनन्द बिष्ट संग कुरा भइरकेको अध्यक्ष भट्टले जानकारी दिए । अध्यक्ष भट्टले ७५ हजार दान दिने घोषणा गरेकोमा पुरै रकम भुक्तानी गरिसकेका छन् ।
सोसाइटिका पूर्व अध्यक्ष पराजुली ले १ लाख १ हजार १ सय ११ कबुल गरेकोमा ४९ हजार ७८ बुझाइसकेका छन् । महापूराणका बेला गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाका पूर्व अध्यक्ष पौडेलले १ लाख दिने प्रतिवद्धता गरेका थिए । साथै टेक्सासका व्यवसायी गौरी जोशीले ६१ हजार १५० दिने घोषणा गरेका थिए । रिजवुड नेपाली समाजका संस्थापक अध्यक्ष मोहन ज्ञवालीले ५० हजार, बरिष्ठ अधिवक्ता खगेन्द्र श्रेत्रीले ३५ हजार, केशब शेढाइले ३५ हजार, जनक पराजुलीले २२ हजार २ सय २२, अधिबक्ता रमेश श्रेष्ठले २० हजार दान कबुल गरेका थिए ।
कबुल गरेको रकम भुक्तानी गराउनका लागि बारम्बार फलो अप गरिरहेको सोसाइटिका महासचिब दिपक राज काफ्लेले बताए । ‘हामीले फोन गरेर, घरमा चिठ्ठी पठाएर ताकेता गरिरहेका छौं’ उनले भने, ‘केही रकम उठिरहेको पनि छ ।’