समाचार

दुई हप्ता बित्यो,  सार्वजनिक भएन एनआरएन अमेरिकाको पूर्ण मत परिणाम

कल्पना घिमिरे
न्यूयोर्क
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए)को निर्वाचन सकिएको १७ दिन बित्यो । तर, अझै कुन राज्यमा कति मत प्राप्त भएको थियो ? कुन–कुन उम्मेदवारले कुन–कुन राज्यबाट के–कति मत पाए भन्ने नतिजा सार्वजनिक हुन सकेन । विद्युतीय प्रणालीमा निर्वाचन सकिएको १–२ मिनेटभित्रै नतिजा सार्वजनिक हुनुपथ्र्यो, तर एनआरएन अमेरिकाको निर्वाचनमा त्यसो भएन । निर्वाचन गत मे १९ गते राति १२ बजे सकियो नतिजा २० गते बिहान मात्रै सार्वजनिक भयो । त्यो पनि एकमुष्ट ।
अहिलेसम्म जित्ने र पराजित हुनेको एकमुष्ट मात्रै रिजल्ट आएको छ । पराजित उम्मेदवारहरुलाई कुन–कुन राज्यमा कति–कति मत प्राप्त भयो ? जित्नेले कति ल्याए, पराजितले कति पाए भन्ने जान्न खोज्नु स्वाभाविकै हो । यसै सन्दर्भलाई लिएर पराजित उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत गुनासो पोखिरहेका छन् । उम्मेदवारले मात्र होइन एनआरएन अमेरिकालाई माया गर्ने आम सर्वसाधारणले पनि मतपरिणाम सार्वजनिक हुन नसकेकोबारे आक्रोश पोखिरहेका छन् ।
तर, निर्वाचन आयोगले कुनै जवाफ दिएको छैन । गत मे महिनाको १८ र १९ मा अमेरिकाभर एनआरएन अमेरिकाको केन्द्र र च्याप्टरको निर्वाचन भएको थियो । १९ गते राति १२ बजे निर्वाचन सकिएपछि निर्वाचन आयोगले २० गते बिहानै एकमुष्ट मत परिणामका आधारमा विजयी घोषणा ग¥यो । ‘सबै राज्यको निर्वाचन परिणाम सार्वजनिक हुन नसकेपछि, आफू उम्मेदवार भएको र सोचेभन्दा विपरीत नतिजा आएकाले कहाँ–कसरी अनुमान फरक परेछ भन्ने जान्ने प्रयास गरेको हुँ,’ अध्यक्षका उम्मेदवार सञ्जय थापा फेसबुकमा लेख्छन्, ‘मैले निर्वाचन सकिएको २ दिनपछि २२ गते नै निर्वाचन आयुक्तलाई इमेल पठाएर राज्यअनुसारको पूर्ण मत परिणाम सार्वजनिक गर्न अनुरोध गरेको थिएँ, तर अहिलेसम्म त्यसको जवाफ आयो न त मत परिणाम नै ।’
उनका अनुसार अन्तिम समयसम्म पनि निर्वाचन हुन्छ कि हँुदैन भनेर अन्यौलता थियो । मतदान सुरु हुनुभन्दा २ घण्टा अघि मात्रै अन्तर्राष्ट्रिय समन्वय समितिले निर्वाचनमा जाने निर्णय ग¥यो । अर्कोतिर २०९३ सदस्य कसले, कहाँ र कहिले प्रमाणित ग¥यो भन्ने प्रश्नले बजार तातिरहेको थियो । त्यस्तो अवस्थामा निर्वाचन भएर अझै पूर्ण मतपरिणाम सार्वजनिक नहुँदा संस्थाप्रति थप अविश्वास, वितृष्णा र असन्तुष्टि जागेको छ । उनले निर्वाचन आयोग, राष्ट्रिय समन्वय समिति अमेरिकाको मौजुदा तथा नवनिर्वाचित बोर्ड र अन्तर्राष्ट्रिय समन्वय समितिलाई समेत छानबिनका बाँकी कामहरु चाँडै सम्पन्न गर्न र मतदानको पूर्ण विवरण सार्वजनिक गर्न अनुरोध गरेका छन् ।
अध्यक्षका अर्का उम्मेदवार सूर्य लम्सालले पनि निर्वाचन परिणाममा असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय समितिसँग जवाफ मागेका थिए ।
जानकारहरुका अनुसार विद्युतीय प्रणालीमा कम्प्युटरको एउटा बटम थिच्यो भने मिनेटभित्रमै सम्पूर्ण नतिजा छर्लङ्ग हुनुपर्ने हो । तर, निर्वाचन आयोगले विभिन्न राज्यहरुको नतिजा अझै किन सार्वजनिक गर्न सकेन ?
निर्वाचन आयोगका प्रवक्ता कुल आचार्य भन्छन्, ‘अमेरिकाभर ७ वटा राज्यहरुमा च्याप्टरको निर्वाचन भएको थियो । उक्त च्याप्टरहरुको नतिजा २० गते नै सार्वजनिक गरेका हौं । सार्वजनिक भएको मत परिणामको नतिजा हामीले वेबसाइटमा राखिसकेका छौं । तर, अन्य राज्यहरुको निर्वाचनको नतिजा केन्द्रको नतिजामै मिसिएर आएको हुनाले छुट्याएर सार्वजनिक गर्न नसकेको हो । हामीले प्रत्येक राज्यको नतिजा छुट्याएर दिन निर्वाचन गराउने कम्पनीसँग मागिरहेका छौं । त्यसका लागि निर्वाचन गराउने कम्पनीले थप पैसा मागिरहेको छ । तर, सम्झौताअनुसार हामीले पैसा थप गर्नु पर्दैन । यस्ता स–साना कुरा नमिलेर उनीहरुले नतिजा छुट्याएर हामीलाई दिएका छैनन् । उनीहरुले नतिजा हामीलाई दिनेबित्तिकै सार्वजनिक गर्छौं । कति समय लाग्छ भन्नेबारे अहिले केही भन्न सक्ने अवस्थामा छैन ।’
निर्वाचन गराउने जिम्मा भेन्डिङ कम्पनीले लिएको थियो । निर्वाचनको नतिजा भेन्डिङ कम्पनीको अफिसियल कपीमा सार्वजनिक नगरेर निर्वाचन आयोगले आफ्नो लेटरहेडमा सारेर सार्वजनिक ग¥यो भन्ने उम्मेदवारहरुको गुनासो छ । यसो गर्दा नम्बर मिलाएर नतिजा सार्वजनिक गरेको हुन सक्ने पनि शंका गर्छन् एनआरएन अमेरिकाका उम्मेदवारहरु । यसै सन्दर्भमा आयोगका प्रवक्ता आचार्य भन्छन्, ‘निर्वाचन गराउने कम्पनीले होइन, निर्वाचन आयोगले नै नतिजा सार्वजनिक गर्ने हो । निर्वाचन गराउने कम्पनीले दिएको नतिजालाई निर्वाचन आयोगमार्फत आधिकारिक रुपमा जस्ताको तस्तै सार्वजनिक गरिएको हो । निर्वाचन समितिका हामी ५ जना सदस्यलाई भेन्डिङ कम्पनीले मत परिणामको अफिसियल कपी पठाएको छ । उसले दिएको कपी हामीसँग सुरक्षित छ ।’
निर्वाचन अघि नै मतदाताको गोप्य सूचना चुहावट, सदस्यता दर्ता प्रक्रियाअन्तर्गत २०९३ जना सदस्यलाई कसले र कहाँ प्रमाणित ग¥यो भन्ने विषय पनि निकै विवादित बनेका छन् । एनआरएनएले निष्पक्ष छानबिन गर्ने, दोषीलाई कारबाही गर्ने भन्दै आए पनि निर्वाचन मत परिणाम नै सार्वजनिक हुन नसकेको अवस्थामा यस्ता अति नै महत्वपूर्ण विषय ओझेल परिरहेका छन् ।
मेम्बरसिप भेरिफिकेसन कमिटीले मतदानमा सदस्यहरुको कुन डाटा प्रयोग ग¥यो ? सदस्यको संख्या र मतदानमा प्रयोग भएको तथ्याङ्क विवरण माग्दा सदस्यताको विवरण नदिएको चर्चा पनि उत्तिकै छ । सदस्यताको कुन डाटा प्रयोग गरेर मतदान गरिएको छ भन्ने पनि छानबिन गरिनु जरुरी छ । अर्कोतर्फ नतिजा सार्वजनिक गर्दा क–कसको रोहबरमा गरियो ? को–को उम्मेदवार र को–को पर्यवेक्षकहरु थिए ? त्यो पनि नतिजासँगै सार्वजनिक हुनुपर्छ ।
निर्वाचन प्रक्रियामा थुप्रै कमी–कमजोरी, लापरबाही पनि पाइएको उम्मेदवारहरु बताउँछन्, ‘मतदात भइरहेका बेला कसैले इमेल आएन, भोटिङ लिङ्क आएन भनेर फोन गर्दा तुरुन्तै भोटिङ लिङ्क र भोटिङ कोर्डहरु पठाइदिएको पनि पाइयो ?,’ एक उम्मेदवारले भने, ‘कतिपय सदस्यलाई इमेल नै आएन भोटै हाल्न पाएनन् यस्तो कसरी भयो ? निर्वाचनलाई पारदर्शी र चुस्त–दुरुस्त बनाउनु प¥यो भन्ने माग गर्दै आए पनि एनआरएनए निर्वाचन कहिल्यै निष्पक्ष र पारदर्शी हुन सकेन ।’
संस्थाभित्रका यस्ता विवादित विषयलाई अति नै गम्भीर रुपमा लिएको बताउँछन् एनआरएनएका महासचिव बाबुराम लामा । ‘सदस्यताको गोप्य सूचना चुहावटको विषयमा हामी निकै गम्भीर बनेका छौं । यसको निष्पक्ष छानबिन हुनुपर्छ भनेरै निवर्तमान अध्यक्ष केशव पौडेल लागिरहनुभएको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा काम गर्न पनि निकै अप्ठेरो छ । अहिलेको कार्यसमितिले पनि काम गर्न मिल्दैैन नवनिर्वाचित कार्यसमितिले पनि काम थालेको छैन । जुलाई महिनाको ६ तारिखबाट मात्रै नयाँ कार्यसमितिले विधिवत काम सुरु गर्नेछ ।’

 

विधान संशोधनका लागि सुझाव पठाउन आह्वान

न्यूयोर्क । गैरआवासीय नेपाली संघ (राष्ट्रिय समन्वय समिति) एनआरएन अमेरिकाको विधान समितिले सुझाव संकलन गरी संस्थाको विधान संशोधन गर्ने भएको छ । एनआरएनएले सोमबार एक विज्ञप्ती जारी गर्दै सबैलाई सुझाव पठाउन आह्वान गरेको हो ।
संस्थाको आठौँ साधारण सभा आगामी जुलाई ६ र ७ मा इल्लिनोइस राज्यको सिकागो सहरमा हुँदै छ । सबैले पठाएको सुझावलाई मध्यनजर गर्दै त्यतिबेला विधान संशोधन गरिनेछ । संस्थालाई आगामी दिनमा अझै गतिशील, प्रभावकारी एवम् सहभागीमूलक बनाउन वर्तमान विधान संशोधन गर्न लागिएको संस्थाका महासचिव बाबुराम लामाले जानकारी दिए ।
संघको वर्तमान विधानमा समसामयिक संशोधनका लागि विधान समितिले काम गरिरहेको छ । विधान समितिले १३औं संशोधित विधानलाई थप संशोधन गर्ने क्रममा सबैको विचारलाई समेट्न सुझाव संकलन गरिरहेको महासचिव लामाले जानकारी दिए ।
समितिले यस संस्थासँग आबद्ध सदस्यहरुको कुनै सल्लाह एवम् सुझाव भएमा आगामी जुन १८ तारिख मंगलबारसम्म आइपुग्ने गरी इमेलमार्फत ष्लाय२लचलगकब।यचन (इन्फो एट एनआरएन युएसए डट ओआरजी) मा पठाउन अनुरोध गरेको छ ।
सुझाव पठाउँदा वर्तमान विधानको कति पेज नम्बरको कति आर्टिकल नम्बरको कति क्लज नम्बरमा के सुधार गर्नुपर्ने स्पष्ट लेखेर पठाउन पनि अनुरोध छ । संशोधन गर्नुपर्ने कारण पनि खुलाएर पठाउन अनुरोध छ । वर्तमान विधान एनआरएनए एनसीसी युएसएको वेबसाइटमा जततउकस्ररलचलगकब।यचनरmभमष्बरज्ञढण्द्धरकmभमकगचनउचतज्ञडण्ढद्दद्धज्ञडद्दज्ञण्।उमा यो लिङ्कमा हेर्न सकिनेछ ।
विधान संशोधनसम्बन्धी कुनै जिज्ञासा भएमा विधान समितिका पदाधिकारीसँग सम्पर्क गर्न सकिने पनि जनाइएको छ । विधान समितिका सदस्यहरु बाबुराम लामा, कृष्ण लामिछाने, गोपेन्द्र भट्टराई, सञ्जय थापा, हरिहर पौडेल, रेवतीराज अधिकारी, छत्र गुरुङ, दिलु पराजुलीलाई सम्पर्क गर्न सकिनेछ ।