स्वास्थ्य

रक्तदाताको डायरी : पितृशोकले पनि रोक्न सकेन

अर्जुनप्रसाद मैनाली / विश्व रक्तदाता, न्यूयोर्क

नेपालमा मेरो बुवा फोक्सोको क्यान्सरबाट सिकिस्तै बिरामी हुनुहुन्थ्यो । डाक्टरले बुवालाई किमोथेरापी दिन छोडि सकेका थिए । नदुख्ने औषधीमात्र दिएका थिए । डाक्टरले फोनमा मलाई ‘बुवा धेरै गलीसक्नु भएको छ’ भनेका थिए । मार्च २०१९ को अन्तिम सातामा करिव तीन महिना जति बुवासँगै बस्छु भन्ने मनसायले जागिरमा अप्रिल १ देखि लागू हुने गरी बेतलबी छुट्टी मिलाएँ । साथी विश्वराज बास्तोलासँग केही पैसा सापटी गरेर न्यूयोर्कदेखि काठमाडौंको एकतर्फी जवाइजहाजको टिकट लिएँ । मेसेन्जरबाट फोन गरेर बुवालाई भनें; ‘अप्रिल २ मा काठमाडौं आई पुग्दै छु बुवा’ । बुवालाई भिडियोमा कलमा हेरें, वाक्य अड्किएर धेरै बोल्नै सकिन । बुवासँग मेरो हरेक दिन जसो भिडियो कल हुन्थ्यो । बुवाले ‘बावु अहिले आउनु पर्दैन, अमेरिकाको भिषा लाग्नासाथ म त्यतै आईहाल्छु, पैसा नभएको बेलामा किन बढी खर्च गर्छस !’ भन्नु भयो । घरका अरु सदस्यहरुले आफन्तहरुले पनि बुवासँग केही महिना समय छ भन्ने अनुमान गरेका थिए । तर बुवाले एप्रिल १ तारिख बिहानै करिव ४ बजे तिर हामी सबैलाई छोडेर जानु भयो । त्यो दिन पापमोचिनी एकादशी रहेछ । बुवाले एक दिन बढी पर्खिनु भएन । बुवाको अन्तिम समयमा बुवासँग “हजुरको कारणले यस धर्तिमा जन्मिएँ, मलाई राम्रोसँग हुर्काउनु भयो, स्याहार सुसार गर्नु भयो, म हजुरप्रती कृतज्ञ छु” भन्दै बुवाको दुखेका खुट्टा सम्सुमाउने इच्छा थियो, पुरा हुन पाएन । बहिनीले “अब बुवा रहनु भएन” भनी । मेरो भक्कानो फुट्यो । आँसु धेरै बगेकोले आँखाका डिल सुन्निएर आँखा पुरिन लागेका जस्ता भएछन् । लामो लामो सास फेरिदैं घुक्क घुक्क हुँदो रहेछ । यसरी रुनु हुँदैन भन्ने थियो, तर पनि अन्तर्मनदेखि आएकोले रोक्न सकिएन । मलाई सान्त्वना दिन केहीबेरमै धेरै साथीभाइ उपस्थित भए । साथीहरुको समवेदनाले निक्कै सजिलो भयो । संसारमा सबै थोक नासवान छ भन्ने सत्य कुरालाई हृदयगम गरेँ । यही कुरामा चित्त बुझाएँ । नेपालमा आफन्तहरुसँग ‘अब मलाई नपर्खिनु, बुवाको राम्रोसँग दाह संस्कार गरिदिनु, दागबत्ती दिन भाई छँदै छ’ भनेँ । भाई पनि दुई हप्ता अगाडिमात्रै कोलोराडोबाट नेपाल गएको थियो ।

बुवा हुँदा धेरै ठुलो भरोसा हुन्थ्यो । केही पर्दा बुवाले साथ दिनु हुन्थ्यो । ठीक सल्लाह दिनु हुन्थ्यो । बुवालाई भेटेर त्यतै रक्तदान र सो सम्बन्धि कार्यक्रम गरौंला भन्ने सोचेको थिएँ  । बुवामा आफ्ना छोरा छोरीको अझै राम्रो होस भन्ने भावना थियो । मलाई रक्तदानमा पनि हौसला दिईरहनु हुन्थ्यो । सायद सबैका बुवाहरुमा पनि यस्तै भावना हुने होला । त्यस्तै आमामा पनि असिमित माया हुँदो रहेछ । यसरी बुवा आमाका निगरानी र मायाले गर्दा नै सृष्टी अनन्त कालदेखि नै चल्दै आईरहेको रहेछ । अझै पनि चल्दै जान्छ ।

यस्तै यस्तै सम्झनाले न्यूयोर्कदेखि काठमाण्डौको यात्राा सकिएको पत्तै भएन । एअरपोर्टमा बहिनी, फुपू, मितज्यु र साथीहरु आएका रहेछन । मलाई सिधै किरिया घर लिएर गए । त्यहाँ भेट्न आउनेहरुको घुँइचो थियो । सबैले ‘तपाइको बुवा ठुलो हृदय भएको असल ब्यक्ती हुनुहुन्थ्यो’ भन्दै बुवाले समाजमा पुर्याएका योगदानका बारेमा कुरा गर्दथे  । बाह्र तेह्र दिनसम्म कृयापुत्री घरमा आफन्त, शुभचिन्तक, फुपू तेह्र दिने दाजुभाइ, तिनका दुलहीहरुले राम्रोसँग सघाए । बुवाको काजकृया पनि राम्रोसँग गर्यौँ । आमा र भाईहरु अलिक धार्मिक छन् । उनिहरुलाई यस्तै रितिरिवाज हुन्छ भन्ने ज्ञान रहेछ । तर बहिनीले आफुलाई धेरै दिनसम्म सम्हान सकिनन् । बहिनिले मलाई ‘दाइ बुवा एकछिन बाहिर कतै जानु भएको छ, अहिले एकछिनमा आउनुहुन्छ जस्तो लागिरहन्छ, भन्थिन ।

यसरी सत्र अठार दिनको एकदमै दु:खद दिन बिताएँ । अमेरिका फर्किन मसँग चाहिने जति खर्च थिएन । बहिनीले सहयोग गरी । १८ तारिख न्यूयोर्क फर्किने टिकट बनाएँ । अमेरिका फर्किने दिन ए बि सि टेलिभिजनकी सन्तोषी अधिकारीले देशवासीहरुमा रक्तदान गर्न उत्प्रेरणा हुने खालको अन्तरवार्ता लिइन । मैले आफुले गरेका कामहरुका बारेमा जानकारी गराएँ ।

बुवाको बियोगको दु:खका समयमा पनि रक्तदान कृयाकलापलाई रोक्न सकिनँ । न्यूयोर्क फर्केर एक दिन आराम गरेपछि अप्रिल २० मा क्यानडा गएँ । त्यहाँ पनि नेपालीहरु साथ रक्तदान गरेँ । उपस्थित भएकाहरुमा हौसला प्रदान गरेँ । जति धेरै रगत दान गर्‍यो त्यति धेरैले पुन: नयाँ जीवन पाउँछन् भन्ने मलाई लागि रहन्थ्यो । यही भावनाले मलाई सधैं रक्तदान गर्न प्रेरित गरिरहन्छ ।