डायस्पोरा

न्यूह्यामसरमा तमु ल्होछार, पहिचान झल्किने नृत्यदेखि लोक दोहोरीसम्मको आनन्द

प्रभात भट्टराई / न्यूह्यामसर
अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरमा विविध कार्यक्रम साथ तमु ल्होछार सम्पन्न भएको छ । नेपालमा बर्षेनी पुष १५ मा तमु ल्होछार मनाइने गरे अनुरुप न्यूह्यामसरमा बसोबास गर्ने गुरुङ समुदायले गत शनिबार भव्यताका साथ आफ्नो मुख्य पर्व मनाएका हुन् । यस बर्षको ल्होछार च्यू ल्हो (मुसा बर्ष) को रुपमा मनाइएकौ हाे ।

राज्यको मुख्य सहरी केन्द्र मेनेचेष्टरमा आयोजित कार्यक्रममा स्थापित एवं स्थानीय कलाकारहरुले गायन एवं नृत्य प्रस्तुत गरेका थिए । गुरुङ संस्कृतीको प्रवद्र्धन र सम्बर्धनका लागि स्थानीय महिलाहरुले गुरुङ भाषाकै गीतमा नृत्य देखाएका थिए । नेपाली आधुनिक गायिका पविता परियारको गीतमा सहभागीहरु उत्साहका साथ झुमेका थिए ।

न्यूयोर्कमा बसाबास गर्दै आएका लोक गायक राजेश थापाको प्रस्तुतीले सहभागिलाई फरक मनोरञ्जन दिएको थियो । लाइभ संगीतका साथ स्थानीय कलाकारहरुको गायनले कार्यक्रममा थप रौनक भरेको थियो । कार्यक्रममा दर्जन बढि स्थानीय कलाकारले नृत्य देखाएका थिए । कार्यक्रमको समापनमा प्रस्तुत लोकदोहोरीले सहभागीहरुलाई आफ्नै गाउँ ठाउँको सांगीतीक माहोलको न्यास्रो मेटाइ दिएको थियो । नेपाली गीत संगीतको विविधतालाई समेट्ने ढंगले कार्यक्रमको ढाँचा बनाइएको गुरुङ समाज न्यूह्यामसरका महासचिव माधव गुरुङले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रम सुरु हुनु अघि औपचारिक समारोहकाबीच दीप प्रज्वलन गरि ल्होछार उद्घाटन गरिएको थियो । कार्यक्रममा न्यूह्यामसर सहित छिमेकी राज्यहरु मासाचुसेट्स, भर्मोन्ट लगायत न्यूयोर्कबाट समेत सहभागिता रहेको थियो । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजकी अध्यक्ष छत्रकुमारी गुरुङले सामुहिक रुपमा ल्होछार मनाएर परदेशी भूमीमा आफ्नो संस्कृती जिवत राख्न सफल भएको बताएकी थिइन् । यस्ता कार्यक्रमको निरन्तरताले विदेशी माझ आफ्नो संस्कृति जोगाउन र सन्ततीहरुलाई आफ्नो संस्कार सिकाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरिन् ।