विश्व

इजिप्टका चार नागरिकलाई नेपालद्वारा देश निकाला

काठमाडौं । नेपालले गैरकानूनी रुपमा नेपालमा बसेका ४ जना इजिप्टका नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेको छ ।

भिसा अवधी सकिएपछि पनि लामो समयसम्म नेपालमा बसिरहेका ४ जना इजिप्टका नागरिकलाई निष्कासन गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

उनका अनुसार सरकारले भिसा दस्तुर, विलम्ब शुल्क र जरिवाना समेत मिनाहा गरेर उनीहरुलाई देश निकाला गर्ने भएको छ ।

मन्त्रीपरिषद्को गत सोमबारको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले उक्त जानकारी दिएका हुन् ।

उनीहरुको भिसा दस्तुर तथा विलम्ब शुल्क ४ हजार ६४० अमेरिकी डलर र अधिकतम जरिवाना २ लाख रुपैयाँ रहेको छ । सो रकम मिनाहा गरिने भएको छ ।