समाचार

अब काठमाडौंमा सादा पोशाकमा घुमुवा पुलिस नखट्ने

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट सादा पोशाकमा खटिदै आएको समूह अब नखट्ने भएको छ ।

यसरी खटिदै आएको टोलीको ड्यूटी हटाएर अब पोशाकमै प्रहरी खटाउने निर्णय भएको छ । यस्तो निर्णय बिहीबारबाटै कार्यान्वयनमा आएको कार्यालयले जानकारी दिएको छ ।

मातहतका प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा आफै खटिदै आएको र महानगरीय अपराध नियन्त्रण महाशाखाबाट सादा पोशाकमा पुलिस खटिने भएकाले दोहोरो गरी कर्मचारी खटाउनु आवश्यक नभएको निष्कर्षमा कार्यालय पुगेको हो ।

अब कार्यालयका टोलीहरु सबै पुलिसकै पोशाकमा सुरक्षामा खटिने भएका छन् ।

घुमुवा प्रहरीप्रति समाजको इमेज पनि नकारात्मक बन्दै गएको, पदको दुरुपयोग गरी गलत फाइदा लिने गरेको समेत आरोप पुलिसमाथि लाग्दै आएको छ ।

उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा २१ जनासम्म घुमुवा टोली परिचालन हुने गरेको थियो ।