रोचक खवर

अर्थ मन्त्रालयका उपसचिवविरुद्ध ४ करोड ६८ लाख भ्रष्टाचार मुद्दा

काठमाडौं । अर्थमन्त्रालयका सहसचिव राजेन्द्र ढुंगानाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

शुक्रबार ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गरेको हो ।

सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

उनले गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति आफू र श्रीमती मधुको नाममा राखेको पाइएको छ ।

उनी २०४९ मा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । त्यसयता २०७५ सम्म वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ मात्र देखिएको छ ।

तर यस अवधिमा उनले गरेको खर्च र लगानी भने ५ करोड ४८ लाख ३ हजार ३५१ देखिएपछि यसलाई अख्तियारले अस्वभाविक भनेको छ ।

उनले ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत खुलाउन सकेनन् । उनलाई जरिवाना र कैदका साथै गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगो जफत गरी पाउन समेत माग दाबी गरिएको छ ।