समाचार

कमल थापाको प्रस्ताव, पूर्वराजादेखि विप्लवसहितको गोलमेच सम्मेलन

बुटवल । द्धन्द्धकालमा तत्कालिन नेकपा माओवादीले निकै प्राथमिकताका साथ उठाउने गरेको गोलमेच सम्मेलनलाई अब राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाउन थालेको छ ।

राप्रपा अध्यक्ष कमल थापाले मुलुक राजनीतिक संकटमा परेको दाबी गर्दै गोलमेच सम्मेलनको माग गरेका हुन् । सम्मेलनमा पूर्वराजादेखि विप्लव समूह समेत सहभागी गराउनु पर्ने उनको प्रस्ताव छ ।

अझ रोचक के छ भने विगतमा माओवादीले गोलमेच सम्मेलनको माग गर्दा सत्तामा कमल थापा शक्तिशाली पात्रका रुपमा उपस्थित थिए ।

राप्रपाको प्रदेश नंं ५ का जिल्ला अध्यक्ष तथा सचिवहरुको भेलालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुक जटि अवस्थामा रहेको बताए ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको सफल कार्यान्वयन हुन नसकेको उनको तर्क छ । अब गम्भीर समिक्षा गर्दै राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गर्नुपर्ने उनको प्रस्ताव थियो ।

गोलमेच सम्मेलनले देशमा दीगो शान्ती स्थापना गर्ने उनको भनाई छ । राजतन्त्र हटेपछि पनि बेरोजगारी, भ्रष्टाचार, मौलिक धर्म संस्कृतिमाथि आक्रमण, राष्ट्र विखण्डनको चुनौती, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद र विप्लव माओवादीको नयाँ द्वन्द्वको जन्म भई समस्या कायम रहेको भन्दै उनले गोलमेच सम्मेलन आवश्यक रहेको बताएका हुन् ।

संघीयताको मोडेल सुधार गरी केन्द्र र स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने तथा प्रदेश खारेज गर्नुपर्ने उनको तर्क छ ।

बजेटमा टिप्पणी गर्दै अध्यक्ष थापाले वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यमा ठोस कार्यक्रम नभएको बताए । यस्ता कार्यक्रम कार्यकर्तालाई धनी बनाउने उद्देश्यले आएको उनी बताउँछन् ।

लोकतन्त्रको आवरणमा वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको भन्दै अध्यक्ष थापाले मिडिया काउन्सिल विधेयक, सेना प्रमुखलाई उपेक्षा गरेर सेना परिचालन गर्न सक्ने, न्यायपालिका र संवैधानिक अंगहरुमा पार्टीकरणको प्रयासले सरकार क्रमशः र विस्तारै सर्वसत्तावादमा जाने निश्चित रहेको उल्लेख गरे ।