समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता आज

काठमाडौं । ९ माघका लागि निर्धारित राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्न सकिने गरी तालिका राखिएको छ ।

५९ सदस्य रहने राष्ट्रियसभाबाट १९ जना सदस्यको पदावधी २० फागुनबाट सकिदैछ । उनीहरुको पदावधी दुई वर्षे कार्यकालका लागि थियो ।

१९ जनामध्ये १८ जना निर्वाचनबाट आउनेछन् भने एकजनालाई सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान रहेको छ ।

यस निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना गरिएको आयोगले जनाएको छ ।

मनोनयनपत्र दर्ता गर्न जादा उमेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने छ ।

आयोगका अनुसार महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नुपर्ने आयोगको सूचिमा उल्लेख छ ।

राष्ट्रियसभामा सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था रहेको छ।