विश्व

अष्ट्रेलियामा फेरी चम्किए सन्दीप

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने विश्वप्रसिद्ध क्रिकेट लीग बीगब्यासमा उत्कृष्ट फर्ममा छन् ।

अस्ट्रेलियामा जारी बिगब्यास लिगमा उनको टोली मेलबर्न स्टार्सले पाँचौं जित हात पार्ने क्रममा शनिबार पनि सन्दीप चम्किएका छन् ।

उनको तीन विकेटको मद्दतमा मेलबर्नले रेनेगेड्सलाई सस्तैमा समेट्न सफल भयो । सन्दीपले शनिबार महत्वपूर्ण तीन विकेट लिँदा मात्र २६ रन खर्चिए ।

उनको टोली मेलबर्न स्टार्स आठ विकेटले विजयी भयो । अघिल्लो खेल भने सन्दीपले चोटका कारण गुमाएका थिए ।

शनिबार उनले पहिलो ओभरमा बिना कुनै विकेट सात रन दिए। दोस्रो ओभरमा सन्दीपले कुनै विकेट झार्न सकेनन्।

यस ओभरमा उनको बलबाट १२ रन आयो । तेस्रो ओभरमा भने उनले दुई विकेट झारे । मात्र चार रन दिएर उनले २ विकेट झारेका हुन् ।

उनले सावन मार्स र डेनियल क्रिष्टिनको विकेट लिएका थिए । आफ्नो अन्तिम ओभरमा सन्दीपले टोम कुपरलाई पेभिलियन फकाउँदा मात्र तीन रन खर्च गरेका थिए ।

सन्दीपको टोली मेलबर्न स्टार्सले टस जितेर फिल्डिङ रोजेको थियो । रेनेगेड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनायो ।

एक सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १८ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर भेट्टायो । सन्दीपको टीम लिगको शीर्ष स्थानमा रहेको छ ।