समाचार

साझा बसमा अब कार्डबाटै भुक्तानी

काठमाडौं । काठमाडौंमा गुड्ने साझा बस सेवाले क्रमशः नगद बोक्नुपर्ने झण्झटबाट यात्रुलाई मुक्त बनाउने बताएको छ । उपत्यकामा चल्ने साझाका सबै बसमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था मिलाइएको कम्पनील जानकारी दिएको छ ।

यद्दपी नेपालमा यात्रुले कार्डबाट भुक्तानी गर्ने प्रणाली नयाँ नै भएका कारण अपेक्षित सफलता भने हात नपरिरहेको कम्पनीको भनाई छ । साझा यातायातले अहिले भएका ५१ वटै बसमा उपकरण जोडर कार्डमार्फत भाडा दिन सकिने सकिने व्यवस्था मिलाएको हो ।

दुई सय रुपैयाँ तिरेर साझाको केन्द्रीय कार्यालय पुल्चोकबाट कार्ड लिन सकिन्छ, यस्तो कार्डमा ब्यालेन्स पनि दुई सय रुपैयाँ नै रहेको हुन्छ।

बस चढेपछि कार्ड हुनेले बसमा भएको उपकरणमा छोएपछि भाडा भुक्तानी हुन्छ । यसमा सहचालकले सहयोग गर्छन् । साझाले तोकेको भाडा रकम यस कार्डबाट कट्टी हुन्छ ।
साझाले नेपाल बैंकसँगको सहकार्यमा यो प्रणाली शुरु गरेको हो । सरकारले आगामी आवको बजेटमा विद्युतीय कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ।