विश्व

इरान जहाज दूर्घटना शंकाको घेरामा, ब्ल्याक बक्स बोइङलाई नदिने

काठमाडौं । इरानको तेहरानमा बुधबार बिहान भएको जहाज दुर्घटना शंकाको घेरामा परेको छ ।

यो जहाजको दूर्घटना प्राविधिक कारणले भएको हो या मिसाइल प्रहारबाट भन्ने विषयले अहिले विश्वभर चर्चा शुरु भएको छ ।

बुधबार बिहान युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दूर्घटनामा परी १ सय ८० जनाको निधन भएको छ ।

यस दूर्घटना पछि जहाजको ब्ल्याक बक्स जहाज निर्माता कम्पनी बोइङलाई नदिने इरानले घोषणा गरेको छ ।

यो जहाज अमेरिकी जहाज निर्माता कम्पनी बोइङले बनाएको हो ।

७३७-८०० मोडलको जहाज बुधबार बिहान तेहरानको इमाम खामेनी विमानस्थलबाट टेकअफ भएको केही समयमै दुर्घटनामा परेको थियो।

जहाजमा आगो लाग्दा कुनै पनि व्यक्ति जिवित रहन सकेनन् । इरानका नागरिक उड्ययन प्राधिकरण प्रमुख अली अवेजादेहले जहाजको ब्ल्याक बक्स बोइङलाई नदिइने बताएका हुन्।

यही ब्ल्याक बक्सका कारण दूर्घटनाको ठोस कारण पत्ता लाग्ने गर्छ । किनकी यसमा पाइलट र एटीसीबीचको कुराकानी रेकर्ड भएको हुन्छ ।

पाइलटले के कारणले जहाज दूर्घटना परेको हो, त्यसको जनाउ दिने गर्छन् ।

अघिल्लो शुक्रबार अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीलाई मारिदिएपछि इरान र अमेरिकाबीच तनाव शुरु भएको छ ।

बुधबार एकाबिहानै इरानले इराकस्थित सैन्य क्याम्पमा मिसाइल हानेको थियो । त्यही क्रममा निसाना जहाज बनेको हो की भन्ने आंशकामा समेत वहस शुरु भएको हो ।

जहाज दुर्घटनामा ८२ इरानी नागरिककै ज्यान गएको छ ।

६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको युक्रेनका परराष्ट्रमन्त्री भ्यादाइम प्रिस्टाइकोले पुष्टी गरेका छन् ।

यो जहाज तेहरानबाट युक्रेनको राजधानी केइभ जान लागेको थियो । यो सन् २०१६ मा बनेको ब्राण्ड न्यू जहाज थियो ।

एजेन्सी