समाचार

आजबाट श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने श्रीस्वस्थानी व्रत तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । यो पर्वलाई हिन्दू धर्मावलम्बीले एक महिनासम्म निकै महत्व दिएर मनाउने गर्छन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो व्रतका अवसरमा पूजा आरधना हुने गर्छ । एक महिनासम्म घरघरमा स्वस्थानी कथा भन्ने र सामूहिक रुपमा सुन्ने गरिन्छ ।

स्वस्थानी परमेश्वरीको व्रत बस्नेहरुले भने हरेक दिन पूजा आरधना गर्छन् । व्रत बस्दा वा कथा र सुन्दासमेत मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

यस पर्वमा काठमाडौंको शालीनदीमा भब्य मेला लाग्छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ यो व्रत बस्ने परम्परा रही आएको छ ।

व्रतपछि पार्वतीले लोककल्याणका लागि यो व्रतकथा प्रचारप्रसार रेको र गरिब तथा दुःखीहरूको उद्धार गरेको कथा यसमा समेटिएको छ ।

व्रत अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी र सतीदेवीको अङ्ग पतन भएका स्थानमा विशेष आस्थासहित पूजाआरधना हुने गरेको छ ।