विश्व

युक्रेनी जहाज आफैले झारेको इरानले स्वीकार गर्यो

तेहरान । युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज भुलवस दूर्घटनामा परेको इरानले स्वीकार गरेको छ । १७६ यात्रुको ज्यान जाने गरि भएको जहाज इरानकै कारण झरेका स्वयमः इरानी अधिकारीहरुले जनाएका छन् ।

इरानको सेनाले क्षेप्यास्त्र प्रहार गरी जहाज खसालेको पुष्टी भएको हो ।

राष्ट्रपति हसन रुहानीले ट्विट गर्दै सेनाको आन्तरिक छानबिनबाट मानवीय त्रुटीका कारण विमानमा मिसाइल प्रहार भएको देखिएको र भयावह दुर्घटना भएको स्वीकार गरेका छन् ।

इरान सरकारले समेत यसप्रति माफी मागेको छ । राष्ट्रपतिले दूर्घटना माफीयोग्य नभएको भन्दै उनले यसलाई ठूलो वियोगको संज्ञा दिएका छन् ।

इरानले अमेरिकी सेनाको जहाज भन्ने ठानेर उक्त जहाजमा मिसाइल हानेको पुष्टी भएको हो । तीन दिन अघि इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा क्षेप्यास्त्र हानेको थियो ।

सोही दिन जहाज समेत दूर्घटनामा परेको थियो । युक्रेनी अन्तर्राष्ट्रिय वायुसेवाको यो विमान उडान भर्नासाथ बुधबार बिहान इरानको राजधानी तेहरानमा झरेको थियो ।

दूर्घटनापछि युरोप र अमेरिकाले जहाज दूर्घटनामा इरानकै हात रहेको बताएका थिए । तर, इरानले भने स्वीकार गरेको थिएन् ।

अहिले भने इरान आफैले यसको पुष्टी गरेको छ । इरानबाट युक्रेनको राजधानी किभतर्फ उडान भर्दै गरेको यो जहाजमा उडान दलका नौ सदस्य र १६७ यात्री सवार रहेका थिए।

दूर्घटनामा इरानका ८२, क्यानडाका १२ र युक्रेनका ११ नागरिकको ज्यान गएको हो ।

आकाशमा उडिरहेको विमानले संवेदनशील सैन्य क्षेत्रतर्फ अप्रत्याशित रुपमा उडान मोडेपछि अमेरिकी सैन्य विमान ठानेर आक्रमण गरेको इरानले जनाएको छ ।

विमान रिभोल्युस्नरी गार्डको सैन्य क्षेत्रको निकै नजिक आएको र मानवीय भूलका कारण विमानमाथि मिसाइल आक्रमण भएको इरानको भनाई छ ।