विश्व

नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्न पाउने

काठमाडौं । नेपालले अब चीनका सात वटा बन्दरगाह प्रयोग गरी मालसामान ढुवानी गर्न सक्ने भएको छ । त्यसमध्ये चारवटा समुन्द्री र दुई वटा सुख्खा बन्दरगाह रहेका छन् ।

नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा ल्याइएपछि यस्तो बाटो खुलेको हो ।

उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका अनुसार चीनको तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह अब नेपालले पनि प्रयोग गर्न सक्ने भएको छ ।

लन्झाउ, ल्हासा र सिगात्सेस्थित सुख्खा बन्दरगाहसमेत नेपालका लागि खुला भएको हो । यता, उत्तरी नाकामध्ये ६ वटा नाका प्रयोग गर्ने गरी दुबै देशबीच सहमति भएको छ।

अब नेपाल र चीनबीच रसुवा, तातोपानी (कोदारी), हुम्लाको यारी संखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका प्रयोगमा ल्याउन सक्ने गरी सहमति भएको छ ।

नेपालमा दर्ता भएका सवारी साधन सिगात्सेसम्म जान सक्ने गरी समेत नेपाल र चीनबीच पारवहन सन्धी भएको थियो । यी प्रावधान कार्यान्वयनमा आएका उनले जानकारी दिए ।

भारतसँग अधिक निकट रहेको नेपालको वैदेशिक व्यापार चीनतर्फ बिस्तार गर्ने भनिएपनि भारतसँग सहज वातावरण चीनसँग छैन ।

यता, भारतसँग भएको पारबाहन सम्बन्धि सन्धि पनि समेत नवीकरणको तयारी गरिएको उनले जानकारी दिए । नयाँ सन्धि भएपछि नेपालले भारतको आन्तरिक जलमार्ग प्रयोग गरेर नेपालमा आयात निर्यात गर्ने बाटो खुल्नेछ ।