समाचार

नेपाल : बेलायती राजसंस्थाको प्यारो, कार्यकारीद्धारा वेवास्ता

काठमाडौं । नेपाली प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आगामी साता बेलायत जाँदैछन् । बेलायतमा १७ वर्षपछि नेपाली प्रधानमन्त्री भ्रमणका लागि पुग्दैछन्।

बेलायत र नेपालबीच २ सय वर्षभन्दा पुरानो सम्बन्ध रहेको छ । तर, यस बीचमा एक जना पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छैनन् । तर, बेलायती राजसंस्थाले भने नेपाललाई जहिले पनि माया गरेको छ ।

वर्तमान महारानी एलिजाबेथ द्वितीय दुई पटक नेपालको भ्रमण गरेकी छिन् । उनी २०१७ फागुन र २०४२ फागुनमा गरी दुई पटक नेपाल आएकी थिइन् ।

राजकुमार चाल्र्स र राजकुमारी डायनाले पनि नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लो समय राजकुमार ह्यारीले नेपालको भ्रमण गरि पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गरेका थिए ।

बेलायती राजपरिवारका महत्वपूर्ण सदस्य पटक पटक नेपाल आएपनि बेलायत सरकारका कार्यकारी भूमिकामा रहेका उच्च अधिकारीहरुले नेपालाई वेवास्ता गरिरहेका छन् । तर, बेलायतमा नेपालीहरुको योगदान भने ठूलो छ ।

सोही कारण बेलायती राजसंस्थाले नेपाललाई निरन्तर माया गरिरहेको देखिन्छ । पछिल्लो पटक तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५९ बैशाखमा बेलायतको भ्रमण गरेपछि वर्तमान प्रधानमन्त्री केपि शर्मा ओली बेलायत भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी साता २५ जेठदेखि १ असारसम्म युरोप भ्रमण जाँदैछन्। ९ दिने दिन युरोप भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले स्वीट्जरल्यान्ड, फ्रान्स र बेलायतको भ्रमण गर्ने छन्।