समाचार

प्रचण्डले भने : १७ हजार मारेको दोष किन मलाई मात्र ?

काठमाडौं । १० वर्ष लामो सशस्त्र द्वन्द्वमा विद्रोही माओवादीको नेतृत्व गरेका नेकपा अध्यक्ष प्रचण्डले १७ हजार मान्छे मारेर आएको भन्ने तथ्यांकलाई सच्याउन आग्रह गरेका छन् ।

उनले जनयुद्धका क्रममा भएका नराम्रा कामको जिम्मेवारी लिने भन्दै माओवादीका तर्फबाट मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने बताएका छन् ।

१२ हजार मानिस हिँजोका राज्य सत्ताले मारेको र त्यसको दोष आफूमाथि थोपर्दा अन्याय हुन बताएका हुन् ।

बुधबार टुँडिखेलमा माघी महोत्सवका प्रमुख अतिथि प्रचण्डकै अगाडी केही वक्ताले १७ हजार मारिएको प्रसंग उठाएका थिए ।

सशस्त्र द्धन्द्धको सफल नेतृत्व गरी त्यसलाई सफल अवतरण नै गराएका प्रचण्डले भने पहिलो पटक यसबारे मुख खोलेका हुन् ।

प्रचण्डले सम्बोधनको सुरुमै तथ्यांक सच्याउन आग्रह गर्दै यसरी आउने तथ्य नै सत्य नभएको बताए ।

हिजोका सामन्त राजाहरुले १२ हजार मारेको भन्दै उनले आफूलाई ५ हजारको जिम्मा दिने भए लिन तयार रहेको बताए ।

उनले भने, ‘हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन । मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा नराम्रा काममा म जिम्मेवारी लिन्छु । म त्यसबाट भाग्ने हुनै सक्दैन । तर नगरेको कामको दोष पनि मलाई थुपार्नु भएन ।’