बिचार

कृष्णको महाभारतमा बुद्धको बुद्धत्व

धन लामा, कनेक्टिकट

[email protected]

महाभारत युद्धको प्रमुख पात्र भगवान श्रीकृष्ण हो भन्नेमा दुई मत छैन । भनिन्छ, कृष्णले चाहेको भए महाभारतको युद्ध नहुन पनि सक्थ्यो । युद्ध नभएको भए हजारौ वीर योद्धहरु मारिने थिएनन् । कुरुक्षेत्रमा मानव रगतको खोलो पनि बग्ने थिएन । अनि अर्को महत्वपूर्ण कुरा चाँहि के हो भने, महाभारतको युद्ध नभएको भए हिन्दूहरुको पवित्र धर्मग्रन्थ भागवत गीता जन्मिने थिएन । त्यो नै मानव ईतिहासको पहिलो र अन्तिम महायुद्ध थियो । महाभारत युद्ध वास्तवमा एउटा प्रतिनिधी युद्ध थियो किनभने हरेक व्यक्तिले जन्मदेखि मृत्‍युपर्यन्त अनेक भौतिक तथा मनोवैज्ञानिक  युद्धहरु लड्नु पर्दछ ।  कृष्ण त अर्जुनलाई भन्ने वहानामा हर-एक मनुष्यलाई भनिरहेको थिए कि जीवनको युद्ध डटेर लड । ईमान्दारीपूर्वक लड । मृत्‍युको भयबाट मुक्त भएर लड । हार र जीतको पर्वाह नगरी लड ।अनि के प्राप्त हुन्छ र के गुमाउँछु ? भन्ने भुलेर लड । त्यसैले यो जीवनको महाभारतलाई पनि म कृष्णको महाभारत भन्ने गर्दछु । कृष्णको महाभारतमा बुद्धको बुद्धत्व आजको बिषयवस्तु हो । यो विषय आँफैमा विरोधाभाषी देखिन्छ । जीवन र जगत आफैमा विरोधाभाषी छ । यस कारण कि दुवै द्वेतको जगमा उभिएको छ । कृष्ण त भनिरहेको छ कि “त्यहाँ एउटा महाजीवन छ जुन समस्त द्वन्द भन्दा पर छ र चरम् आनन्ददायी छ” । बुद्ध भनिरहेको छ कि “निर्वाण त्यो त्यस्तो वाण हो, जसले जीवनको सम्पूर्ण दाग र दुखहरुलाई मेटाई दिन्छ ” । म आफै माथि प्रश्न सोधीरहेको छु, कृष्णको महाभारतमा बुद्धको बुद्धत्व ? 

एक दिन मनको आकाशमा विचारहरुको बादल बनेर म मडारिदै थिएँ । अकस्मात् एउटा विचारको मुस्लो ज्वालामुखी भएर उड्यो ! अंगुलीमालले तरवार छोडेर पाए । बुद्धले दरबार छोडेर पाए । भन्दै, घरबार छोडेर हिड्नेहरु घरको न घाटको जस्तो जीवन बाँचिरहेको पनि देखेको छु नी ! फेरी मनले प्रति प्रश्न गर्यो, वास्तवमा म को हुँ र कसैको जीवनको बारेमा बोल्ने ? कसैको उन्नति अवनतिको बारेमा चिन्तित हुने ? जब कि बुद्ध आफ्नै शिष्य भिक्षु आनन्दको निर्वाणको जिम्मा लिन सक्दैन र कृष्ण अर्जुनलाई सारथीको स्थानमा राखेर अर्जुनको तर्फबाट महाभारतको युद्ध लड्न सक्दैन ? जीवनको महाभारत हर एक व्यक्ति आफैले लड्नु पर्छ र निर्वाण साक्षात्कारको यात्रा पनि हर एक व्यक्तिको नितान्त वैयक्तिक यात्रा हो । 

भगवान कृष्णको भाषामा हामी हरेक दिन जीवनको कुरुक्षेत्रमा आ-आफ्नो महाभारत लडिरहेका हुन्छौं । गाँस, बास र कपासको लागि भौतिक दुनियाँमा लड्नु पर्ने महाभारत त छँदैछ, त्यो भन्दा ठूलो लडाईँ अन्तरजगतमा छ त्यो मानसिक लडाईँ हो । जीवजन्तु र अन्य प्राणीको सवालमा त्यो लडाईं मुलत: जीवनको अस्तित्वगत लडाईं हो भने, मानवीय जगतमा हामी विभिन्न तह र तप्कामा अस्तित्वगत तथा अहंकारजन्य मनोवृत्तिको महाभारत अविछिन्न रुपमा लडिरहेका हुन्छौं । तर यो युग कृष्णको ऐतिहाँसिक महाभारतकालीन युग होईन । यो युग त सिद्धार्थ गौतम आफ्नो तपको बलले बुद्धमा अनुवाद भएको युग हो । ऐतिहाँसिक र शास्त्रीय युग गणनाको हिसाबले कलि भनिएको र मानिएको यो युगमा मानिसको मनोविज्ञानमा चल्ने महाभारत कुनै पनि मानेमा ऐतिहाँसिक महाभारत भन्दा कम छैन । सत युगलाई सत्व, त्रेतालाई राजासिक तर्फको संक्रमण र द्वापरलाई राजसिक युग मान्ने हो भने कलियुग गुणात्मक हिसाबले तामासिक युग हो । बुद्धको बुद्धत्वको यो २५६३ बर्षमा समाज र व्यक्तिको मनोविज्ञानमा तामासिक गुणको घनत्व तीब्र रुपमा बढ्ने क्रममा छ । सृष्टिको सिर्जनशीलतामा तमसले प्रमुख भूमिका खेलेको हुन्छ । प्रकृति त्यही तमससंगको ताण्डव आलिंगनमा नव जीव, जीवन र जीवनको सिर्जना गर्दछे ।

तर भौतिक जगतमा विज्ञानको विकास पनि मनोवैज्ञानिक महाभारतकै एउटा अंश हो । आजको समाजमा हुने गरेका हत्या, हिंसा र  बलात्कारका घट्नाहरु महाभारत कालमा द्रौपदीको वस्त्रहरण भन्दा कम छैन बरु बढी छ । राष्ट्र भित्र र राष्ट्र-राष्ट्र बीचको शक्तिको लागि भईरहेको राजनीतिक र कुटनीतिक खिचातानीहरु हस्तिनापुरको राज्य व्यवस्था भित्र र बाहिरका राज्यहरुसंग भएका खिचातानीहरु भन्दा बढी छ तर कम छैनन् । विज्ञान र प्रविधीको विकासले भूगोल र सूचनाको पहुँचलाई सुलभ बनाईदिएको छ । जतिजति विज्ञानको ज्ञानको दायरा बढ्ने क्रममा छ उत्ति नै अध्यात्मको आत्मा मर्ने क्रममा छ । यो विश्वव्यापी समस्या हो भने आन्तरिक रुपमा वैदिक सँस्कार र संस्कृतिको जगमा उभिएको हिन्दू धर्मसंगको समिश्रणले बुद्ध शिक्षालाई धेरै हदसम्म जटिल र क्लिष्ट बनाई दिएको छ । यो हुनु थियो र भई नै रहेको छ, हुनु थियो यस अर्थमा कि ‘मेरो परिनिर्वाण पश्चातको ५०० वर्षसम्म मात्र मेरो शिक्षाको असली रुप देख्न पाईनेछ’ भन्ने बुद्धवाणी आज चरितार्थ भएको छ । बुद्ध धर्म एक होईन अनेक सम्प्रादयमा विभक्त छन् । महायान, हीनयान, वज्रयान र थेरवाद जस्ता अनेकन शाखाहरुमा विभाजित बुद्ध धर्म हाम्रो वेदीय हिन्दूपरक समाजमा साँस्कृतिक सहकार्यमा समेत सरिक छ  । बौद्ध धार्मिक ग्रन्थहरुमा वेद र पुराणहरुका प्रभाव राम्रैसंग परेको छ । यसर्थमा बौद्ध धर्मले मठ, मन्दिर र शक्ति पीठहरुको अवधारणालाई समेत सहर्ष स्वीकार गरेको छ । त्यही सर्वस्वीकार्यताको जगमा नै त हाम्रो देशमा हिन्दू, बौद्ध र अन्य धार्मिक सम्प्रदायको बीचमा सदियौंदेखि धार्मिक सौहार्दताको सुन्दर फूल फुलिरहेको छ । जब कि विशेष गरी मुस्लिम सम्प्रदायमा सुन्नी र शियाको बीचमा ठूला-साना रक्तपातपूर्ण महाभारतहरु मन्चित भईरहेका हुन्छन् । अझ भनिन्छ कि धर्मको नाममा यो संसारमा जत्ति युद्ध भएको छ, अरु कुनै पनि विषयमा भएको छैन । यस मानेमा हाम्रो देश शान्तिपूर्ण छ । बुद्धलाई शान्तिको पर्याय मान्ने गरिन्छ, शान्ति भन्ने बितिक्कै हाम्रो मानसपटलमा या त सेतो परेवा, या त सिद्धार्थ गौतम बुद्धको तस्वीर आईहाल्छ । मैले माथि कतै उल्लेख गरेको छु, फेरी पनि यो तमसको युग हो, यहाँ एक होईन अनेकन कलियुगीन शकुनीहरु सलबलाई रहेका छन्, द्वन्द उनीहरुको खेती हो । द्वन्दको खेती नै ऐतिहाँसिक महाभारतको निरन्तरताको कडी हो । भगवान कृष्ण कै भाषामा पनि यो त चलिरहन्छ, यही कली युगमा हजारौं अर्जुन जस्ता पात्रहरुले मोक्ष प्राप्त गरेता पनि र हजारौं सिद्धार्थ जस्ता पात्रहरुलाई निर्वाण उपलब्ध भएता पनि यो युग युगको महाभारत त चलिनै रहनेछ, त्यो अन्तिम महाप्रलयमा यो सृष्टी विलय नहुँदासम्म । यो सृष्टी चक्रमा मायाको चक्रव्यूह अभिमन्यू फसेको चक्रव्यूह भन्दा अनगिन्ति गुणा ठूलो र भयानक छ । यही चक्रव्यूहमा त जन्म र मृत्युको अविछिन्न चक्र चलिरहन्छ । त्यसैले त भगवान कृष्ण महाभारतमा भन्नु हुन्छ, “हे अर्जुन ! जन्म मृत्यु, मृत्यु र जन्मको त्यो अथाह सागरबाट बाहिर निस्क ! आउ मेरो शरणमा आउ ” । फेरी पनि बुद्ध भन्छ, निर्वाण त्यस्तो वाण हो जसले तिमी भित्रको संसारको महासागरलाई सुकाई दिन्छ, न जन्म न मृत्युको परम आनन्द अनन्त नव जीवन दिन्छ । तर यो कलियुगिन जीवनको महाभारतमा विना गुरु सम्यक सम्बुद्ध बन्ने सपना करिव असम्भव छ । तर सम्यक गुरु पो कहाँ खोज्ने ? कसरी खोज्ने ? कसरी चिन्ने ? धार्मिकताको महायात्रामा अहिले आएको धर्म संकट यही हो ।