स्वास्थ्य

यूएईमा भयानक बस दूर्घटना, तीन नेपालीसहित ६ जनाको ज्यान गयो

यूएई । यूएईको आबुधाबीमा बिहीबार भयानक बस दूर्घटना भएको छ । दुर्घटनामा परि अहिलेसम्म तीन नेपालीसहित ६ जनाले ज्यान गुमाएका छन् ।

यूएइस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारी र प्युठानकी भावना कुँवरको ज्यान गएको छ ।

घरको ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङले समेत दूर्घटनामा ज्यान गुमाएकी छिन् ।

आवुधावीको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किदा दूर्घटनामा परेको हो ।

प्रहरीकाअनुसार बस चालक, एक जना श्रीलङ्कन एक जना अफ्रिकन महिला कामदारको समेत ज्यान गएको छ ।

दूतावासका अनुसार बसमा कूल २४ जना कामदार चढेका थिए । उनीहरु बस्ने क्वार्टरबाट काम गर्ने स्थानतर्फ गइरहेका थिए ।

दूर्घटनामा १४ जना नेपाली घाइते छन् । घाइते मध्ये पाँच जनाको आबुधाबीस्थित खालिफा सिटीको एनएमसी अस्पतालमा उपचार जारी छ ।

दूतावासका अनुसार सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार जारी रहेको छ ।

माफ्राक अस्पतालमा मकवानपुर टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्माको उपचार सोही भइरहेको छ ।

चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार क्याम्प फर्किएकी छिन्

। अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्माको उपचार भइरहेको छ ।

यसअघि गत असोजमा समेत दुबईमा भएको बस दूर्घटनामा ६ जना नेपालीले ज्यान गुमाएका थिए ।

दुबईमा तिब्र गतिका कारण धेरै दूर्घटना हुने गरेका छन् ।