विश्व

ह्यारी र मेघनको शाही उपाधी खारेज

लण्डन । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघनको शाही उपाधी खारेज भएको छ ।

अब उनीहरुले हिज–हर रोयल हाइनेस उपाधि प्रयोग गर्न पाउने छैनन् । यसका साथै पब्लिक फन्डका रुपमा प्राप्त हुने रकमको भोगाचलन समेत रोकिएको छ ।

बेलायती राजदरबारले शनिबार यस्तो घोषणा गरेको हो। राजकुमार दम्पतीले राजखानदानबाट अगल बस्ने निर्णय गर्दै त्यसको जानकारी महारानीलाई गराएका थिए ।

अब यो दम्पतीले बेलायतकी महारानीलाई औपचारिक रुपमा प्रतिनिधित्व गर्न सक्ने छैनन् ।

ड्युक एण्ड डचेस अफ ससेक्स (ह्यारी दम्पती)को लागि करदाताबाट प्राप्त भएको २ दशमलब ४ मिलियन पाउण्ड रकममा अब यो दम्पनीको हक नरहने दरवारले उल्लेख गरेको छ ।

सोमबार राजपरिवारका वरिष्ठ सदस्यहरुबीच बैठक बसेको थियो । बैठकका निर्णय शनिबार मात्र सार्वजनिक गरिएको हो ।

बेलायती महारानी एलिजावेथका उनीहरु नाती पुस्ता हुन् । महारानीले परिवारको बारेमा रचनात्मक र सहयोगी बाटो पहिल्याउने काम भएकोमा खुसी व्यक्त गरेकी छिन् ।