समाचार

धादिङमा ग्याङ फाइट, एकको मृत्यु

धादिङ । धादिङमा ग्याङ फाइट भएको छ । युवाको दुई समूहबीच भएको फाइटमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खनियाँवास गाउँपालिका–४ का २५ वर्षीय सन्तबहादुर तामाङको फाइटमा परी मृत्यु भएको हो ।

उनी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा केही युवा घाइते छन् ।

त्यसमध्ये रविन तामाङलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

मंगलबार राती भएको घटनाबाट ती युवाको मृत्यु भएको बताइएको छ । गाउँपालिकाको दार्खाभन्ने स्थानमा गुराँस युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताका दौरान विवादले उग्र रुप लिएपछि घटना भएको बताइएको छ ।

प्रहरीले घटनामा संलग्न रोशन तामाङ र उनका भाइ रामलाई पक्राउ गरेको बताएको छ ।