समाचार

राष्ट्रियसभा निर्वाचन : १६ पदमा नेकपा, दुई पदमा राजपा विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन बिहीबार सम्पन्न भएको छ । निर्वाचनमा नेकपाको तर्फबाट उठेका सबै उमेदवारले जितेका छन् ।

नेकपाले प्रदेश नं २ मा बाहेक अन्यत्र एकल उमेदवारी दिएको थियो । प्रदेश नं २ मा भने राजपासँग मिलेर उमेदवारी दिएको थियो । यहाँ नेकपाको एकल बहुमत थिएन् ।

सोहीकारण ४ सीटमध्ये २\२ सीट बाँडेका थिए । यसरी सबै पदमा नेकपाले उठाएकै उमेदवारले जीत हाँसिल गरेका हुन् । कूल १८ सीटका लागि बिहीबार निर्वाचन भएको हो ।

यी सांसदको पदावधी ६ वर्षको हुनेछ । बिहीबार भएको निर्वाचनमा प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल विजयी भए ।

प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान विजयी भए ।

प्रदेश २ मै गठबन्धन तर्फका राजपाका उम्मेदवार शेखर प्रसाद सिंह र मृगेन्द्रकुमार सिंह विजयी भएको निर्वाच्न आयोगले जनाएको छ ।

प्रदेश ३ मा महिलातर्फ गङ्गा बेलबासे र अन्यमा वेदुराम भुसाल विजयी भए । गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ र महिला तर्फ भगवती न्यौपानेले विजयी भए ।

प्रदेश ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईले जित हात पारेका छन् ।

प्रदेश ६ मा महिलाबाट सुनिता बिसी र अन्यबाट मायाप्रसाद शर्मा विजयी भए । सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्ट र अन्यबाट तारामान स्वाँर सांसद बनेका छन् ।

राष्ट्रिय सभामा यसअघि सांसद रहेका कांग्रेसका १३ जनामध्ये सात जना यस निर्वाचनपछि बाहिरिँदै छन् । उनीहरुको स्थानमा अब सबै नेकपाका उमेदवार सांसद बनेका छन् ।

समाजवादी पार्टीका दुई जनामध्ये एक जना यस पटक बिदा भए, त्यसमा समेत नेकपा आएका छन ।

नेकपाका भने आठ जना दुई वर्षे कार्यकाल सकेर जाँदा १६ जना नयाँ सांसद बनेका छन् । यसले नेकपालाई भने नाफा भएको छ ।