फिचर

‘हाम्रो शहर, हाम्रो भोट’माग गर्दै प्रदर्शन

कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका
अमेरिकी नागरिकता नभएपनि कागजपत्र हुनेहरुले नगरपालिकाको निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गर्दै न्यूयोर्कमा प्रदर्शन गरिएको छ । न्यूयोर्क राज्यमा बसोबास गरिरहेका कागजपत्र हुने आप्रवासीहरुले मतदान गर्न पाउनुपर्ने कानुन पारित हुन लागेको अवस्थामा नेपालीहरुले पनि दबाब दिँदै प्रदर्शन गरेका हुन् । नगरपरिषदले उक्त विधेयक पारित गरेपछि नागरिकता नभएका तर कानुनी रुपमा न्युयोर्कमा बस्दै आएकाहरुले न्युयोर्कको नगर निर्वाचनमा भाग लिन पाउने छन । नगरपरिषदमा पेश गरिएको उक्त विधेयकमा मतदाता हुनको लागि कम्तिमा ३० दिन काम गरेको प्रमाण सहित न्युयोर्क बसेको हुनुपर्नेछ । सिटि काउन्सीलका ड्यानीयल रोड्रिग्वेजकै अग्रसरतामा उक्त विधेयक नगरपरिष्दमा पेश गरिएको थियो । उनका अनुसार यस्तो कानुनले आप्रवासीहरुको भलाई मात्र होइन, अमेरिकी प्रजातन्त्रलाई थप मजबुत बनाउनेछ ।


न्यूयोर्क राज्यमा बसोबास गर्दै आएका आप्रवासीहरुको तर्फबाट मतदान अधिकार सम्बन्धी अभियान लामो समयदेखि चलाइएको थियो । पछिल्लो समय नेपाली भाषीहरुको संख्या बढ्दै गएको अवस्थामा थोरै मात्र जम्मा ५ प्रतिशतले मतदानको अधिकार पाइरहेका छन् । अहिलेको अवस्थामा यो कानुन पारित भएमा ५० हजार नेपाली भाषीहरु लाभान्वित हुने बताइएको हो । न्यूयोर्क र न्युजर्सीमा बसोबास गर्दै आएका नेपालीहरुले ‘आवर सिटी, आवर भोट’ अर्थात ‘हाम्रो शहर, हाम्रो भोट’ अभियान अन्तरगत बिहिबार न्यूयोर्क सिटी हलमा दबाब दिदै प्रदर्शन गरेका हुन् ।
यो अभियानमा न्युयोर्कका विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोग रहंदै आएको छ । यस अभियानका अगुवा अधिकारकर्मी सञ्चारकर्मी शैलेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत खुसी ब्यक्त गर्दै भनेका छन्, ‘करिब तीन बर्षको अन्तरिक तयारी पछि अन्तत आज हाम्रो कोलिसन ‘आवर सिटी, आवर भोट’ नामक सम्पूर्ण डक्युमेन्टेड आप्रवासीहरुले न्युयोर्क सहरको पाँच बोरो भित्र मतदान गर्न पाउने बिधेयकको विधिवत घोषणा गर्न सक्षम भएका छौं । मेरो लागि सन २०१० को पेड सिक डेज (सेवा ब्यबसायका कामदारहरुले अनिवार्य बिरामी बिदा पाउने बिल) बिल पछाडी यसरी कोलिसनको आन्तरिक स्टेरिंग कमिटीमा बसेर काम गर्ने अवसर पाएको यो अर्को अवसर थियो ।’
यो बृहत कोलिसनमा नेपाली समुदायका तीन क्रियाशील संस्थाहरु अधिकार, युनाईटेड शेर्पा एशोसियसन (शेर्पा किदुग) र नेपाल आदिबासी जनजाती महासंघ अमेरिका (फिप्ना) जोडिएका छन । यो अभियानमा जोडिएका सबै संस्था, त्यस संस्थाका नेतृत्व पंक्तिका अगुवाहरु र न्युयोर्क सिटी हलको प्रांगणमा उपस्थित भएका सबै सहभागीहरुप्रति कोलिसन र स्टेरिंग कमिटीको तर्फबाट श्रेष्ठले आभार व्यक्त गरेका छन् ।