खेलकुद

बार्सिलोनालाई भ्यालेन्सियाले हरायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । शनिबार राति सम्पन्न खेलमा भ्यालेन्सियाले पाहुना टोली बार्सिलोनालाई २-० गोल अन्तरमा हराएको हो ।

जोर्डी अल्वाको एक आत्मघाती गोलबाट खाता खोलेको भ्यालेन्सियाका लागि दोस्रो गोल भने म्याक्सी गोमेजले गरेका हुन् ।

दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

खेलको १२ औं मिनेटमा भ्यालेन्सियाले पाएको पेनाल्टीलाई ड्यानी गोमेजले गोलमा परिणत गर्न सकेनन् । उनको पेनाल्टी बार्सिलोनाका गोलकिपर टेर स्टिगेनले उत्कृष्ट बचाउ गरेका थिए ।

क्विक सेटियन बार्सिलोनाको मुख्य प्रशिक्षकमा आएपछि टोलीले पहिलो हार चाखेको हो ।

सन् २००७ यता घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोना हराउन सकेको थिएन । त्यसकारण पनि उसका लागि शनिबार खेल ऐतिहासिक बन्न पुग्यो । शनिबारको खेलपछि बार्सिलोनाको २० खेलबाट ४३ अंक भएको छ ।