समाचार

खाडीबाट भित्रन्छ नेपालमा धेरै रेमिट्यान्स

काठमाडौं । विदेशमा रोजगारीको सिलसिलामा पुगेका नेपालीमध्ये सबैभन्दा धेरै खाडी मुलुकबाट रेमिट्यान्स आउने गरेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यूरोप, अमेरिकालगायत विकसित मुलुकबाट आउने रेमिट्यान्स बढ्न थालेको छ ।

तर, धेरै रेमिट्यान्स भने खाडी मुलुकबाट प्राप्त भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार खाडी मुलुकबाट आउने विप्रेषण नै कुल विप्रेषणको ५०.३ प्रतिशत हिस्सा ओगटेको छ ।

राष्ट्र बैंकले अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको संयोजकत्वमा अनुसन्धान गरेको थियो । अध्ययन अनुसार कतारबाट नेपालमा सबैभन्दा बढी १७.७ प्रतिशत विप्रेषण आउँछ ।

संयुक्त अरब इमिरेट्स (यूएई) बाट मात्र १३.४ प्रतिशत र साउदी अरेबियाबाट १२.५ प्रतिशत विप्रेषण आउने गरेको छ । यस वर्ष मलेसियाबाट आएको विप्रेषणमा केही कमी आएको छ ।

यस वर्षको पहिलो चार महिनामा विप्रेषणको हिस्सा ९.७ प्रतिशत मात्र रहेको छ ।

तथ्यांकअनुसार चालु आवको पहिलो चार महिनामा कतारबाट ५३ अर्ब ९३ करोड र भारतबाट ४३ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

चार महिनामा कुल ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक रहेको छ । युएईबाट ४० अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मलेसियाबाट २९ अर्ब ६६ करोड भित्रिएको छ ।