स्वास्थ्य

चीनबाट आएका जहाज छुट्टै राखिने

काठमाडौं । अब चीनबाट आएका जहाजलाई छु्ट्टै राखेर यात्रुको व्यवस्थापन गरिने भएको छ ।

नेपालको छिमेकी मित्रराष्ट चीनमा फैलिएको कोरोना भाइरसका सम्बन्धमा सोमबार पर्यटन मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो ।

छलफलपछि पर्यटन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा चीनबाट आउने जहाजका लागि छुट्टै व्यवस्थापन गर्न निर्देशन दिए ।

नेपालभित्र यसको प्रभाव पर्न नदिन प्रधानमन्त्रीज्यूको समुपस्थितिमा आइतबार छलफल भएको थियो ।

प्रधानमन्त्रीले उच्च सतकर्ता अपनाउन आग्रह गरेका थिए । सोहीबमोजिम पर्यटन मन्त्रालयले सोमबार सरोकारवालासँग छलफल गरेको हो ।

नेपाल भ्रमण वर्ष, २०२० को सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनु पर्ने पूर्व सतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा छलफल गरिएको मन्त्रालयका सहसचिव रुद्रसिंह तामांगले जानकारी दिए ।

बैठकमा मन्त्री भट्टराईले सरोकारवालालाई दिएका निर्देशन

  • मूलुकको अन्तर्राष्ट्रिय हवाई प्रवेश विन्दुको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाहेल्थ डेस्कका लागि आवश्यक पर्याप्त स्थान उपलब्ध गराउने, समन्वय एवम् सहजीकरण गर्ने
  • विशेष गरी छिमेकी मित्रराष्ट्र चीनबाट आएका पर्यटकमा यस भाइरसको संक्रमणको अनुमान गर्न सकिने कुनैपनि लक्षण देखिएमा होटल, ट्राभलरट्रेकिङ्ग एजेन्सी लगायतका सरोकारवालाबाट यथाशिघ्र तोकिएको स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था मिलाउने
  • नेपाल आउने हवाईजहाजहरु अवतरण गर्नुपूर्व यात्रुहरुलाई हेल्थ डेस्क गई आधारभूत जाँच गराउन गर्ने व्यवस्था तथा विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड बमोजिम अवतरणको समयमा छुट्टै स्थानमा राख्ने व्यवस्था त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले तत्काल मिलाउने
  • पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सवै संस्थाहरुले यस भाइरसको बारेमा अवलम्बन गर्नुपर्ने सजगता एवम् पूर्व सावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सु-सूचित गर्ने गराउने
  • कुनैपनि स्वास्थ्य सम्बन्धी उल्लेखित भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवम् गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने गराउने
  • नेपालमा स्थलमार्गबाट समेत पर्यटक प्रवेश गर्ने स्थानहरु खासगरी रसुवा, यारीनाका लगायत उत्तरी सिमानाकाहरु समेतमा उल्लेखित सतर्कता र पूर्वसावधानीहरु अपनाउने
  • उल्लेखित भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल निगरानीमा राख्नुपर्ने भएकोले यस सम्बन्धमा सबैले पूर्व सावधानी एवम् सजगताका साथ कार्य गर्ने गराउने
  • विमानस्थलमा कार्यरत कर्मचारीहरुले कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्ने
  • चिनीयाँ पर्यटकको बढी उपस्थिति हुने जस्तै काठमाण्डौ, पोखरा, चितवन, लुम्बिनी जस्ता स्थानहरुमा यस सम्बन्धमा विशेष पूर्व सावधानी अवलम्बन गर्ने गराउने
  • कोरोना भाइरसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा जनचेतना बृद्धि गर्ने किसिमका क्रियाकलापहरु सबैले गर्ने गराउने ।
  • मानिसहरुको धेरै आवतजावत हुने धार्मिक, साँस्कृतिक स्थानहरुमा सचेतनामूलक प्रचार प्रसार कार्य संचालन गर्ने
  • कोरोना भाइरस सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेका पोष्टर, पम्पलेट, सूचना मूलक अन्य प्रचार सामाग्री पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको समन्वयमा प्राप्त गरी प्रमुख होटल तथा ट्राभलरट्रेकिङ्ग कम्पनीका कार्यस्थलमा पर्यटकले देख्नेगरी राख्ने व्यवस्था मिलाउने