समाचार

प्रदेश २ मा विदेश जान बैंकले ऋण दिने, साहुको ऋण लिन नपर्ने

जनकपुरधाम । अब प्रदेश दुईबाट रोजगारीका लागि विदेश जाने यूवाले बैंकबाट ऋण पाउने भएका छन् । व्यक्तिगत रुपमा गाउँका साहुहरुले चर्को व्याजमा ऋण लिँदा धेरै घरपरिवार समस्यामा पर्ने गरेका छन् ।

यसैसन्दर्भमा प्रदेश सरकारको पहलमा बैंकले यूवालाई विदेश जाने प्रयोजनका लागि ऋण दिन थालेका हुन ।

प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने युवाले विनाधितो सहुलियत ऋण पाउने कार्यक्रम कार्यान्वयनमा आएको हो ।

यसमा प्रदेश सरकारले समन्वय गरेको छ । बिहीबार प्रभु बैंकले युवालाई कर्जा दिएर यसको शुरुवात गरेको छ ।

जनकपुरमा एक कार्यक्रम आयोजना गरी मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरे ।

यस अभियानबाट अब साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जाने बाध्यता हट्ने मूख्यमन्त्री राउतको भनाई छ ।

मुख्यमन्त्री राउतले सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जान युवालाई सुझाव समेत दिए।

अर्धदक्ष र दक्ष युवाले विदेशमा राम्रो आम्दानी गर्न सक्नै भन्दै आफू सक्षम भएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरे ।

प्रदेश सरकार, सीप परियोजना, प्रभु बैक र एसबिआई बैंकबीच साउनमा वैदेशिक रोजागरीमा जाने युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो।

उक्त सम्झौता कार्यान्वयनमा आएको हो । अब बैंकले विनाधितो सहुलियत ऋण दिनेछन् । सम्झौता अनुसार प्रभु बैकले सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यस्तो सेवा दिनेछ ।

एसबिआई बैंकले सिरहा, धनुषा र महोत्तरीमा सेवा दिनेछ । युवाले विनाधितो ऋण लिन पासपोर्ट बनाउने बित्तिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटो सहित निवेदन दिन सक्ने भएका छन् ।

बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाममा बचत खाता खोल्नेछ । भिसा लागेपछि, भिसा, श्रम सम्झौता बैकमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध हुने गरी कार्यविधि बनाइएको छ ।