समाचार

बालुवाटार जग्गा प्रकरण : नेता बचे, कर्मचारी मुछिए

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेतालाई जोगाइएको छ ।

ललितानिवासमा ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्य सचिव लीलामणि पौडेलसहित ४० जनाभन्दा बढीलाई दोषि सावित गरेको छ ।

यस प्रकरणमा अधिकांश कर्मारीलाई मुछेर राजनीतिक दलका नेताहरुलाई भने सफाई दिइएको बताइएको छ ।

मन्त्रिपरिषदले कार्यदेश दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो ।

कीर्ते गरेर नक्कली मोही खडा गरी सरकारी सम्पत्तिमा हानी पुर्‍याएको निष्कर्ष प्रहरीले निकालेको छ । स्रोतका अनुसार यस प्रकरणमा प्रहरीले नेतालाई भने दोषि देखेको छैन ।

जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालदेखि नेकपाका महासचिव विष्णु पौडेसम्मको नाम जोडिएको थियो ।

गृह मन्त्रालय स्रोतका अनुसार ब्युरोको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मन्त्रालयमा बुझाएका हुन् ।

प्रतिवेदनमा निर्णय प्रक्रियामा संलग्न कर्मचारी, राणा परिवार, मोहीसहितका व्यक्तिमाथि कारवाहीको सिफारिस भएके छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसह–सचिव कलाधर देउजा, गेहनाथ भण्डारीलगायत व्यक्तिमाथि कारवाहीको सिफारिस भएको छ ।

यसबाहेक डा. शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपर मार्केटका संचलक मीनबहादुर गुरुङसहितका व्यक्तिमाथि पनि कारवाहीको सिफारिस भएको छ । ढकाल यस काण्डका मूख्य योजनाकार मानिएका थिए ।