स्वास्थ्य

चीनबाट फर्काएपछि नेपालीलाई कहाँ राखिदैछ ?

काठमाडौं । कोरोना भाइरस उत्पत्ति भएको शहर चीनको वुहानबाट करीव ३ सय नेपालीले घर फर्कन इच्छा व्यक्त गरेका छन् ।

उनीहरुले उद्दारका लागि बेइजिङस्थित नेपाली दूतावासमा निवेदन बुझाएका हुन् । उ

नीहरु अति प्रभावित क्षेत्रबाट नेपाल भित्रन लागेका कारण सिधै घर पठाउन मिल्दैन । कोरोनाको संक्रमण दुई सातासम्म पनि कुनै लक्षणबीना सुसुप्त अवस्थामा रहन सक्ने भएकाले उनीहरुलाई छुट्टै स्थानमा विशेष निगरानीका लसाथ राख्नुपर्छ ।

तर, नेपालमा त्यस्तो निगरानीसहितको स्थान कहाँ छ ? आइतबार स्वास्थ्य मन्त्रालयमा यस सम्बन्धमा छलफल भएको छ ।

तर, स्थानको टुंगो नलागेका कारण तत्काल चीनबाट नेपालीलाई स्वदेश फर्काउने मिति तय हुन सकेन ।

मिति तय हुनासाथ उनीहरुलाई विशेष विमानबाट नेपाल ल्याइने छ । त्यसका लागि पर्यटन मन्त्रालयले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गर्ने तयारी गरेको छ । वुहानमा रहेका सयौं नेपालीले घर फर्कने इच्छा व्यक्त गरेका छन् ।

उनीहरुमध्ये अधिकांश विद्यार्थी हुन् ।

सरकारले नेपाली सेनाको नवनिर्मित भवन, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हल, इचंगुनारायणमा सुकुम्वासीका लागि बनाइएको आवास, कीर्तिपुरस्थित आयुर्वेदिक अध्ययन केन्द्र र भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रलाई सम्भावित स्थानका रुपमा प्रस्ताव गरेपनि तय भएको छैन ।

यहाँ चिकित्सकको निगरानीसहित ३ सय भन्दा बढी नेपाली एकै स्थानमा रहनु पर्नेछ । बुहानबाट धेरै देशले आफ्ना नागरिकलाई फिर्ता लगिरहेका छन् ।