स्वास्थ्य

दामन दूर्घटनाको कारण अटेरी पर्यटक, रिसोर्टको वेवास्ता

काठमाडौं । मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्टमा गत माघ ७ मा ८ जना भारतीय पर्यटकको मृत्यु भएको घटनामा पाहुना र होटल व्यवस्थापन दुबैले गल्ती गरेको पाइएको छ ।

रिसोर्टको एउटै कोठामा ८ जना सुतेको स्थानमा ग्यास हिटर बाल्दा निस्सासिएर उनीहरुको मृत्यु भएको थियो । उनीहरुले सुत्दा झ्याल ढोका बन्द गरेका कारण निसास्सिएर ज्यान गएको हो ।

यो घटना हुनुमा रिसोर्टले पाहुनालाई मौसमको जानकारी दिन नसक्नु, पुराना भएका उपकरण नियमित मर्मत गर्न नसक्नु, पर्याप्त सुविधा दिन नसक्नुजस्ता कमजोरी गरेको छ ।

पाहुनाले समेत रिसोर्टका कर्मचारीलाई अटेर गरी जबर्जस्ती गर्नु, बच्चालाई देखाएर रिसोर्टका कर्मचारीलाई तर्साउनु मूख्य गल्ती भएको छ ।

सरकारले यो घटनापछि छानविन समिति बनाएको थियो । समितिको प्रतिवेदन अनुसार दूर्घटनामा दुबै पक्ष सचेत भएको भए क्षति नहुने औल्याइएको छ ।

पाहुना राती साढे ९ बजे रिसोर्ट पुग्दा बाहिर अत्यधिक चिसोले उनीहरु आत्तिकएको, उनीहरुको साथमा बालबालिका भएपनि पर्याप्त न्यानो लूगा नबोक्नुमा रिसोर्टले बेलैमा जानकारी गराउन नसक्नुलाई कमजोरी मानिएको छ ।

रिसोर्टका उच्च तहका कर्मचारी सुतेपछि तल्लो तहका कर्मचारीलाई थर्काएर हिटर कोटा भित्र लगेको पाइएको छ ।

कर्मचारीले भने हिटर बालेर सुत्दा दूर्घटना हुन सक्ने भन्दै सचेत गराएका थिए ।

भारतको केरलास्थित तातो वातावरणबाट आएका पर्यटकलाई दामनको चिसो अधिक लागेको र त्यो सहनै नसकेर हिटर मगाएको पाइएको छ ।

यद्दपी कोठामा विद्यूतीय बेड भने रहेको पाइएको छ । त्यो बेड नतातेको भन्दै पाहुनाले हिटर लगेका थिए ।