समाचार

ओमानसँग हार्यो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बुधबार नेपाल ओमानसँग हारेको छ । नेपाल १८ रनले पराजित भएको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १ सय ९८ रन भेट्टाउन नसक्दा नेपालले घरमै आफनो पहिलो खेल हारेको हो । नेपाल ४६.५ ओभरमा १ सय ७९ रन जोड्दै अलआउट भयो।

नेपालले फेरी पनि ब्याटिंगमा कमजोर देशका रुपमा प्रमाणित गर्यो । नेपालको लागि शरद भेषवाकरले सर्वाधिक ५५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६ र सन्दीप लामिछानेले २८ रन जोडे। कप्तान ज्ञानेन्द्र कार्की र पूर्वकप्तान पारस खड्का भने फ्लप भए ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा १ सय ९७ रन जोडेको थियो । बलिंगमा राम्रो प्रदर्शन गरेपनि ब्याटिंग जम्न नसकेपछि नेपाल हारेको हो ।

लिग २ मा त्रिकोणात्मक सिरिज चलिरहेको छ । यस अनुसार कीर्तिपुरमा एक साता भित्र नेपाल, ओमान र अमेरिकाले एकआपसमा २, २ पटक प्रतिस्पर्धा गर्दैछन्।

जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्ने भएका छन् । लिग, २ को सिरिज प्रतियोगिता सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरण पुग्ने बाटो पनि हो । अब नेपालको अर्को खेल शनिबार हुनेछ ।