विज्ञान प्रविधि

'अरुण थर्ड' जलविद्युतमा जुट्यो १ खर्ब लगानी, ८६ अर्ब भारतीय

काठमाडौं । ९ सय मेगावाट क्षमताको अरुण थर्ड जलविद्युत आयोजनामा लगानी व्यवस्थापन भएको छ । करीव १ खर्ब लगानी जुटेको हो ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजनाका लागि ‘फाइनान्सियल क्लोजर’ (वित्तीय ब्यवस्थापन) सम्बन्धमा सम्झौता सम्पन्न भएको हो ।

आयोजनामा ३० प्रतिशत भन्दा बढी निर्माणको काम भइसकेको छ । बिहीबार नेपाल र भारतका ७ वटा बैंकले आयोजनाका लागि १ खर्बभन्दा बढी लगानी गर्ने सम्बन्धमा सम्झौता गरे ।

यो आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुँदैछ । स्वपुँजीमध्ये कम्पनीले १० अर्बभन्दा बढी खर्च गरिसकेको र सोहीकारण भौतिक प्रगतिसमेत ३० प्रतिशत पुगिसकेको बताइएको छ ।

यस आयोजनामा भारतको एसबीआई बैंकसहित कानरा बैंक, पञ्जाब नेशनल बैंक, एक्जिम बैंक अफ इन्डिया र युनियन बैंकले ऋण लगानी गर्ने भएका छन् ।

भारतीय बैंबाट कूल ८५ अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी आउने कार्यक्रममा जानकारी दिइयो ।

नेपालको एभरेष्ट बैंकबाट १० अर्ब २० करोड र नबिलबाट ५ अर्ब १२ करोड रुपैयाँ लगानी हुने भएको छ । अरुण तेस्रोमा लगानी गर्ने सहमतिपत्रमा १६ चैत २०७५ मै नेपालमा नबिल बैंक र एभरेष्ट बैंकले सम्झौता गरिसकेका छन् ।

यो आयोजनाको निर्माणको योजना भने सन् २०११ मै बनेको थियो । त्यसबेला १ खर्ब ४ अर्ब लागत अनुमान गरिएको थियो ।

अहिले बढेर १ खर्ब ४० अर्ब पुग्ने अनुमान छ त्यसमध्ये १ खर्ब १ अर्ब ३४ करोड बैंकबाट ऋण लिइएको छ । यो आयोजनाले सन् २०२४ बाट उत्पादन थाल्नेछ ।

आयोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगम (एसजेभिएन)ले निर्माण गरिरहेको छ ।

सरकारले २०७१ साल मंसिर ९ मा परियोजना विकास सम्झौता (पीडीए)मार्फत सतलजलाई निर्माणको जिम्मा दिएको हो ।

अरुण तेस्रो आयोजनाबाट उत्पादन हुने कुल विद्युतको २१.९ प्रतिशत अर्थात १९७.१ मेगावाट विद्यूत नेपाल सरकारले निःशुल्क पाउने गरी सम्झौता भएको छ ।

अरु विद्युत भने कम्पनीले बेच्नेछ । त्यसका लागि विद्युत प्रसारण लाइन समेत निर्माण भइरहेको छ ।

संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रसारण लाइन महोत्तरीको ढल्केबरस्थित ४ सय केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

सतलजले निर्माण सम्पन्न भएको २५ वर्ष चलाएर चालु अवस्थामै परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ ।