फिचर

एक महिनामा ट्रम्पको एप्रुभल रेटिङमा भारी गिरावट– ग्यालप न्यूज

न्यूयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कामकारबाही प्रति जनताको सन्तुष्टी (जब एप्रुभल रेटिङ) एक महिनाको अन्तरालमा ह्वात्तै घटेको एक अध्ययनले देखाएको छ । ग्यालप न्यूजको सर्भेक्षण अनुसार अप्रिलको तुलनामा मे महिनामा ट्रम्पको जब एप्रुभल रेटिङ छ प्रतिशत बिन्दुले ओरालो लागेको हो ।

अप्रिलको दोस्रो पाक्षिक ट्रम्पको कामले आफुलाई सन्तुष्ट बनाएको भन्ने सर्वसाधारण ४६ प्रतिशत थिए । ग्यालपको नियमित सर्भेमा ट्रम्प निर्वाचित भए यताकै यो सबैभन्दा उच्च एप्रुभल रेटिङ थियो । मे दोस्रो पाक्षिकमा फेरि उनी प्रतिको सन्तुष्टि ४० प्रतिशतमा झरेको हो ।

सन् २०१६ को चुनावमा रसियन सम्लग्नताको अनुसन्धान गरेको बिषेश काउन्सिलर रोबर्ट मुलरले ट्रम्पले कानुन उल्लंघन नगरेको भनेर आफुले क्लिन चिट दिन नसकेको बताए लगत्तै ग्यालपको पछिल्लो सर्भे भएको थियो । ग्यालपको सर्भेक्षण अनुसार ट्रम्पको सबैभन्दा कम एप्रुभल रेटिङ ३७ प्रतिशत रहेको छ । सन् १९८० को दशकबाट राष्ट्रपतिको कामबारे जनताको सन्तुष्टि मापन गर्दै आएको ग्यालप सर्भे अमेरिकामा उच्च विश्वसनिय रहेको छ ।

ग्यालप सर्भे अनुसार ट्रम्पले कार्यभार सम्हाले यताको उनको औषत जब एप्रुभल भने ३९ प्रतिशत रहेको छ । मेमा उनको कामप्रति सन्तुष्टि नजनाउने अमेरिकी मतदाताको संख्या भने ५५ प्रतिशत रहेको छ ।