समाचार

प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश पुरानै शैलीमा चलिरहेको स्वीकार गरेका छन् । खासगरी विकास निर्माणको काममा भएको प्रगतिबाट उनी कत्ति पनि संतुष्ट छैनन् ।

आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले चाहेको गतिमा काम नभएको भन्दै असन्तष्टी व्यक्त गरे ।

काम हुँदै नभएको होइन, तर जसरी विकास होस भन्ने चाहेको थियौं, त्यसरी हुन सकेन, उनले भने ।

उनको असन्तुष्टी खासगरी पूँजिगत खर्च, विकास निर्माणमा भइरहेको ढिलाईप्रति धेरै थियो ।

वैदेशिक लगानीका आयोजनाको प्रगतिबाट पनि उनी त्यति सन्तुष्ट देखिएनन् ।

लगानी सम्मेलनबाट आएको प्रतिवद्धतालाई कार्यान्वयनको तहसम्म ल्याउन भइरहेको ढिलाईका सम्बन्धमा समेत प्रधानमन्त्रीको चासो थियो ।

बैठकमा प्रधानमन्त्री आफ्नो स्वास्थ अवस्थाका कारण भने पुरै समय बसेनन् ।

बैठकमा सातवटै प्रदेशका मूख्य मन्त्रीले कर्मकाण्डी रुपमा बस्ने यस बैठकको औचित्य नभएको भन्दै विकास खर्च कम हुनुमा केन्द्र सरकारको केन्द्रिकृत सोच दोषि रहेको प्रतिक्रिया दिएका थिए ।

आइतबारको बैठकबाटै राष्ट्रिय आयोजना बैंकको औपचारिक शुभारम्भ गरियो ।