समाचार

नेपाललाई ओमानले फेरी हरायो

काठमाडौं । बलिङमा जम्न नसकेपछि आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई ओमानले हराएको छ । नेपाल जारी लीगमा लगातार दोस्रो पटक घरेलु मैदानमै ओमानसंग हारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २४९ रन बनाएको थियो ।

तुलनात्मक रुपमा राम्रो ब्याटिङ गरेको दिन बलिङ यूनिटले साथ दिन सकेन । जसले गर्दा नेपालले नमिठो हार बेहोरेको हो ।

२ सय ५० रनको लक्ष्य ओमानले सहजै भेटायो । नेपालले मात्र २ विकेट लिन सक्यो ।

ओमानका उपकप्तान अकिब इल्यास आइतबार चम्किए । उनले अलराउण्ड प्रदर्शन गरे ।

उनले बलिङतर्फ ४ विकेट लिएका थिए भने ब्याटिङ यूटिममा शतक हाने । नेपाललाई उनी एक्लैले हराएको टिप्पणी नेपाली फ्यानहरुले गरेका थिए ।

इल्यास र कप्तान जिसान मक्सुदबीच तेस्रो विकेटका लागि शतकीय साझेदारी भएको हो ।

अकिब इल्यासले अविजित १०९ रनको पारी खेले । पहिले ब्याटिङ गरेको नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे ।

ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।